काठमाडौं । विश्व शान्तिका अग्रदूत गौतम बुद्ध जन्मेको देश नेपाललाई विश्वले चिन्छ । आज २५ सय ६९औँ बुद्धजयन्ती मनाइएको छ । बुद्ध जन्मस्थल लुम्बिनीसँगै देशभरका बौद्ध स्तूपा, विहार र गुम्बामा पूजाआजासहित विविध कार्यक्रम भएका छन् ।
अहिले विश्वमा विभिन्न प्रकारका द्वन्द्वहरू देखा परेका छन् । विभिन्न देशहरुबीच एक आपसमा झगडा र द्वन्द्व छन् । भगवान् गौतमबुद्धको जन्मस्थल नेपालबाट विश्वभर शान्ति र समृद्धि स्थापनाका लागि बुद्धको शिक्षालाई मनन गर्नुपर्ने आवश्यकता गराउनु आजको दिनमा झनै महत्वपुर्ण छ ।
नेपाल विगत २५ सय वर्षदेखि विश्व शान्तिका लागि अनवरत् प्रयासमा छ । नेपालले महामानव गौतम बुद्ध जस्ता विश्व शान्तिका प्रणेता जन्माएर नेपाललाई विश्वसामु चिनाएको छ । बुद्धको धर्म र दर्शन आज एसिया महादेश छिचोलेर पाँचै वटा महादेशमा मानवीय मूल्य र मान्यताको शान्ति सन्देश मात्र भएका छैनन्, ‘जीवन जिउने कला’ र ‘जीवनमार्ग’ समेत बन्न पुगेको छ ।
विश्वका उत्कृष्ट विश्वविद्यालयमा नियमित अध्ययन र अध्यापनको विषय पनि बनिसकेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज लुम्बिनीमा आयोजित बुद्ध जयन्ती मूल समारोहको उद्घाटन गर्दै बुद्धका उपदेश विश्वका लागि सन्दर्भयोग्य रहेको बताउनुभएको छ ।
बुद्धका उपदेश विश्वका लागि महत्वपुर्ण रहेको बताउदै उहाँले भारत र पाकिस्तानबीच हात हालाहालको स्थिति आएको अवस्थामा अहिले संयमित भएकोमा धन्यवाद ज्ञापन गर्नुभयो । विश्वका मानवको अस्तित्व र पृथ्वीको सुरक्षाका लागि बुद्धको सन्देश फैलाउनु आवश्यक रहेको छ । प्रधानमन्त्री ओलीले नेपाल जहिले पनि विश्व शान्तिका पक्षमा उभिनुपर्नेमा जोड दिनुहुन्छ ।
मास डिस्ट्रक्सन (सर्वनाशक)का हतियारहरूको निर्माण र त्यसको थुप्रो लगाउने काम भइरहेको पनि प्रधानमन्त्रीको भनाई छ । यो मानव अस्तित्व र धर्तीको अस्तित्वका लागि खतरनाक भएको प्रधानमन्त्री ओलीको दाबी छ ।
शान्तिको अनुभूतिजन्य मूलभूत पक्ष भनेकै भौतिक र मानसिक पक्ष हुन् । भौतिक शान्तिले शारीरिक शान्तिदेखि, हाम्रो शरीरले निरन्तर अन्तरसम्बन्ध र अन्तक्र्रिया गर्ने जीवन र जगत्का सम्पूर्ण व्यावहारिक पक्ष, पारिवारिक, सामुदायिक, आर्थिक, राजनीतिक, सामाजिक, क्षेत्रीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रियदेखि विश्व ब्रह्माण्डीय शान्तिसँग जोडिएको अर्थ राख्छ । व्यावहारिक (भौतिक) शान्तिको वास्तविक अनुभूतिपछि मात्र व्यक्तिगत शान्तिदेखि परिवार, समाज, समुदाय, राष्ट्र हुँदै विश्व मानव–समुदायले शान्तिको अनुभूति गर्न सक्ने परिस्थिति र परिवेशको वातावरण निर्माण हुन सक्छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे लुम्बिनी साझा श्रद्धा र शान्तिको भूमि रहेको बताउनुहुन्छ । अहिले सत्ता ,शक्ति र सम्पत्तीको लोभमा विश्वभर द्वन्द्व भईरहेका छन् । दिगो कुरा भनेको सद्भाव, सहिष्णुता रहेछ भन्ने बुद्धका उपदेश पालना गर्नुपर्नेमा मन्त्री पाण्डेको जोड छ ।
नेपाल विश्व शान्तिको उद्गमस्थल हो । यो नेपालका लागि विशिष्ट पहिचान र गर्वको विषय मात्र नभई प्रत्येक नेपालीलाई अन्तर्राष्ट्रियस्तरमा शिर ठाडो पार्ने अस्त्र पनि बनेको छ । नेकपा (माओवादी केन्द्र) का नेता एवं प्रतिनिधि सभा सदस्य हितबहादुर तामाङ विश्वका धेरै देशहरुमा भएका द्वन्द्वमा नेपालले विश्वस्तरमा शान्तिको सन्देश दिदै प्रेरणाको स्रोत बनेर भुमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुहुन्छ ।
बुद्धले आफैलाई चिन्नुपर्छ भनेर दिएको शिक्षा आजको विश्वमा झन् बढी अपरिहार्य बन्दै गएको छ । शान्ति मानिसको स्वभाविक चाहना हो । मानिसले जन्म देखिनै शन्तिको कामना गरेको हुन्छ । विश्वमा शान्तिका लागि विभिन्न धर्म र दर्शनका ज्ञाता र स्रष्टाहरूबाट खोजी र त्यसबारेमा गहन चिन्तन पनि हुँदै आएको छ । त्यसमध्ये विश्व शान्तिका नायकका रूपमा गौतम बुद्धलाई मान्ने गरिएको छ ।
बौद्ध दर्शनले शान्तिको लागि विशेष महत्व दिएको हुनाले विश्वमा यसको प्रभाव बढ्दै गएको पाइन्छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वर्ष लुम्बिनीमा अन्तर्राष्ट्रिय स्तरको बुद्ध जयन्ती कार्यक्रम भव्य रूपमा मनाउने घोषणा पनि गर्नुभएको छ ।
बुद्धको शान्ति र अहिंसाको मार्गलाई कूटनीतिक शक्तिका रूपमा प्रयोग गर्दै शान्ति र समृद्धिको नेतृत्व गर्न सकिने सन्देश पनि नेपालले दिन सक्दछ । २५ सय ६९औँ बुद्धजयन्तीको यो अवसरमा विश्वभर शान्तिको कामना ।