काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन प्रणाली बदल्नुपर्ने बताउनुभएको छ । हालको निर्वाचन प्रणाली जनताको पक्षमा नभएको बताएका प्रचण्डले संविधान संशोधनमार्फत् यसलाई बदल्नुपर्ने बताउनु भएको हो ।
सुनसरीको धरानमा आइतबार किरात र लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा नेपालको संयुक्त राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै उहाँले हालको निर्वाचन प्रणाली चुनावमा पैसा खर्त गर्न सक्नेहरूको पक्षमा रहेको बताउनुभयो । ‘संविधानमा अहिले व्यवस्था गरिएको निर्वाचन प्रणाली जनताको पक्षको होइन, पैसावालाहरूको पक्षको निर्वाचन प्रणाली हो,’ ‘यसलाई बदलेर प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली र पूर्ण समानुपातिक संसद् रहने निर्वाचन प्रणाली अवलम्बन गर्नुपर्छ र त्यसका लागि संविधान संशोधन अपरिहार्य छ ।’ प्रचण्डले भन्नुभयो ।
शान्ति प्रक्रियामा आएपछि माओवादी जनताबाट केही टाढा भएको दोहो¥याउँदै प्रचण्डले केन्द्रीय समितिको बैठकमा गम्भीर आत्मसमीक्षा गरिएको र अब देशका सबै उत्पीडित वर्ग, जाति, लिङ्ग र क्षेत्रका जनतासँग सम्बन्ध सुधार्ने अभियानमा रहेको जिकिर गर्नुभएको छ ।
यस्तै प्रचण्डले संविधानलाई चुनौती दिएर देशलाई वंशवादतिर फर्काउने प्रयास भइरहेको भन्दै माओवादीले जिम्मेवार भएर त्यसको सामना गर्ने बताउनु भएको छ । धरानमा आयोजित किराँती राष्ट्रिय मुक्ति मोर्चा र लिम्बूवान राष्ट्रिय मुक्ति मोर्चा नेपालको संयुक्त राष्ट्रिय सम्मेलनमा प्रचण्डले राप्रपाका सांसदहरूले यही संविधानअनुसार सदनभित्र बसेर तलबभत्ता र सबै सुविधा लिएर संविधानकै विरोध गरेको भन्दै आलोचना समेत गर्नुभयो ।