काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले यथास्थिति भत्काउने र रूपान्तरणसहित क्रान्तिलाई समाजवादी क्रान्तिमा लैजाने काममा अघि बढेको बताउनुभएको छ ।
पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा आयोजित एक कार्यक्रममा प्रचण्डले फेरि कम्युनिस्ट आन्दोलनलाई क्रान्तिकारी आदर्श र निष्ठातिर नै अगाडि लैजाने गरी आफूहरू अघि बढिरहेको उल्लेख गर्नुभयो । चुनौतिका विरुद्ध लड्ने सङ्कल्पसहित फेरि विचार, मुद्दा, वर्ग, समुदायलाई केन्द्रित गरेर एक पटक यथास्थिति भत्काउने र रूपान्तरणसहित क्रान्तिलाई समाजवादी क्रान्तिमा लैजाने गतिका साथ काम गरिरहेको उहाँको जिकिर छ ।
प्रचण्डले अहिले प्रतिक्रियावादी, अवसरवादी अझ बढी आफूहरुविरुद्ध घेराबन्दी गर्ने, भ्रमहरू छर्ने काममा लागेको आरोप लगाउनुभएको छ । उहाँले नेताहरूलाई देवत्वकरण गर्न नहुने पनि बताउनुभयो ।
यस्तै प्रचण्डले वर्तमान सरकार आफ्नै कुकर्मको बोझले ढल्ने दाबी गर्नुभएको छ । आज पार्टीको पाँचथर जिल्ला कमिटीले फिदिम बजारमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्ने क्रममा उहाँले आफूहरू अहिले सरकार ढाल्ने हतारोमा नरहेको बताउनुभयो ।
अबको निर्वाचनमा आफ्नो पार्टी कसैको वैशाखी टेकेर सहभागी नहुने उहाँको भनाई छ । उहाँले पार्टी र आफ्नाविरुद्ध विभिन्न भ्रम छर्ने प्रयास भइरहेको भन्दै त्यस्ता भ्रममा नपर्न नेता कार्यकर्तालाई अनुरोध पनि गर्नुभयो ।