काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वैज्ञानिक वन व्यवस्थापनका नाममा सालघारीको फँडानीलाई कडाइका साथ रोकिने बताउनु भएको छ । वन तथा वातावरण मन्त्रालयद्वारा आज आयोजित दोस्रो राष्ट्रिय वन सम्वद्र्धन गोष्ठीको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले देशको सालघारी प्रकृतिको अनुपम उदाहरण भएको र पानी पार्नका लागि यस्ता अग्ला रूखहरूको महत्व हुने भएकाले उमेर नपुगेसम्म साललाई व्यावसायिक उपयोगमा लान नहुने बताउनुभयो ।
‘हरियो वन नेपालको धन’को नारा पुरानै भए पनि धनको रुपमा वनको सदुपयोग भएको थिएन तर अहिले हामीले एउटा संकल्प लिएका छौँ, वनको विनाश हुन नदिएर सौर्यमण्डलको सार्थकताका लागि वन संरक्षण गरेर कसरी उपयोग गर्न सकिन्छ भनेर लागेका छौँ’, प्रधानमन्त्री ओलीले भन्नुभयो ।
कृषि र वनको अधिकृत मिलेर फलफूलखेतीमा जोड दिन सकिने भन्दै उनले हिमाली भेगमा प्रशस्त जैतुनको खेती गर्न सकिने भएकाले पारस्परिक सहयोग बढाएर वन संरक्षण गर्दै आर्थिक समृद्धिको मार्ग अग्रसर हुन पनि उहाँले आग्रह गर्नुभएको छ ।
यस्तै प्रधानमन्त्री ओलीले राजाहरुले देशलाई कंगाल बनाएको आरोप लगाउनु भएको छ। उहाँले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति लक्षित गर्दै देशलाई आजको जमानासम्म गरिबी बनाएर राख्नेहरुले हामी आउँछौँ, साथ देउ भनिरहेको देख्दा अचम्म लागेको बताउनुभयो ।
देश कंगाल बनाउने काम राजाहरु गरेको आरोप लगाउँदै प्रधानमन्त्री ओलीले अहिले ३० वर्षमै देश कोल्टे फेर्ने गरी विकास भएको र देशलाई विकसित, बस्न लायकको बनाउनैपर्ने आवश्यकता रहेको बताउनुभयो । देशलाई उपचार गर्ने पुस्ता अहिलेको आएको प्रधानमन्त्री ओलीको दाबी छ ।