काठमाडौं । गृहमन्त्री रमेश लेखकले सरकार नेपाली काँग्रेस र नेकपा एमालेबिच भएको सहमतिअनुसार नै अघि बढ्ने बताउनु भएको छ । आज ललितपुरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले आफू मन्त्री बनेको १० महिना भएको र १० महिनाको समय धेरै नरहेको बताउनु भएको हो । विगतमा १० महिनामा सरकार परिवर्तन हुने स्थिति रहँदा एउटा सरकारको कार्यकाल जस्तै लाग्ने गरे पनि अहिलेको सरकार परिवर्तन नहुने उहाँको भनाई छ ।
यसपालि दसै महिनामा सरकार नफेरिँने बताउँदै गृहमन्त्री लेखकले यस्ता १० महिना हामी तीन, चार वटा अरू व्यहोर्ने बताउनुभयो । गृहमन्त्री लेखकले संक्रमणकालीन न्यायका सम्बन्धमा कानूनलाई पूर्णता दिएको बताउनुभयो । उहाँले कानूनको अपूर्णताका कारण कामहरू अवरुद्ध भएको बताउनुभयो । ९ महिना यताको समयमा आफूहरूले कानूनलाई पूर्णता दिएको उहाँको भनाई थियो ।
उहाँले संक्रमणकालीन न्यायको विषय सम्बोधन गर्न सरकार अघि बढिसकेको जिकिर गर्नुभयो । उहाँले मुलुकमा स्थिरता प्रदान गर्ने, सुशासन दिने, संक्रमणकालीन न्याय जस्ता देशका प्राथमिकताका विषयलाई सम्बोधन गर्नका लागि यो सरकार बनेको जिकीर गनुृभयो ।
सरकारमा संलग्न राजनीतिक दलहरूका बिचमा भएको सहमतिअनुसार सरकार अघि बढ्ने बताउँदै सिफारिस समितिले आफ्नो सिफारिसको काम अघि बढाइसकेको उहाँको भनाई छ । संक्रमणकालीन न्यायको आजको परिस्थितिलाई यदी कुनैपनि नाममा अलमल र कुनैपनि नाममा अवरुद्ध भए दोस्रो पटक यसलाई फेरि लयमा ल्याउन धेरै समय र धेरै अप्ठ्यारो हुने मन्त्री लेखकले बताउनुभयो ।