काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निरङ्कुशकालमा जस्तो शासकबाट कुनै हस्तक्षेप नहुने भएकाले आफ्नो ब्रम्हले देखेको कुरा लेख्न अहिले गोरखापत्र प्रकाशन स्वतन्त्र रहेको बताउनुभएको छ ।
गोरखापत्र प्रकाशनको १२५ औँ वर्ष प्रवेशका अवसरमा आज गोरखापत्र संस्थानद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले इतिहासका अनेक घटनाहरूको साक्षीका रुपमा गोरखापत्रले राष्ट्रलाई योगदान गरेको बताउँदै अहिले सरकारले लिइरहेको ‘समृद्ध नेपाल, सुखी नेपाल’ को को राष्ट्रिय आकाङ्क्षा गोरखापत्रले पहिलो दिनको प्रकाशनमै ‘सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामया..’ को उद्घोषबाट आरम्भ गरेको स्मरण गर्नुभयो ।
राणा र राजतन्त्रकालमा शासकविरोधी कुनै सङ्केतसम्म पनि छाप्न नपाइने स्थिति रहेको बताउँदै प्रधानमन्त्री ओलीले गणतन्त्रमा सबै सञ्चार माध्यम स्वतन्त्र रहेको बताउनुभयो । गोरखा पत्रलाई यस्तो लेख्नु, गर्नु भनेर अहिले आफुले कुनैपनि खालको निर्देशन नदिएको उहाँले जिकीर गर्नुभयो । निरङ्कुशताको तरबारबाट गोरखापत्र सँधै प्रताडित हुनेभएपनि अहिले स्वतन्त्र रहेको उहाँको भनाई छ ।
‘जसरी पनि नकारात्मक टिप्पणी गर्ने, कृत्रिम बौद्धिकताको प्रयोग गरेर चरित्र हत्या गर्ने, आज एउटा झुटलाई सही भनेर फैलाउने र भोलि त्यसलाई पुष्टि गर्ने प्रवृत्ति बोकेका सञ्चारमाध्यमसँग गोरखापत्रले सामना गर्नुपर्नेछ’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘गोरखापत्रले पत्रकारितामा एउटा मानक तय गरेको छ । यो कमाइको भाँडो होइन, जनतालाई सूचना, मनोरञ्जन दिने र भाषा, कला र संस्कृतिको योगदान गर्ने संस्था हो । भविष्यका लागि आइपर्ने चुनौतीको सामना गर्न यो सक्षम रहोस् ।’