काठमाडौं ।राजसंस्था पुनस्र्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिले चाँडै आन्दोलनमा उत्रिने भएको छ । समितिका संयोजक नवराज सुवेदीले आन्दोलन कार्यक्रम तय गर्न बोलाएको बैठक अहिले जारी छ ।
काठमाडौंको सुकेधारास्थित नवदुर्गा पार्टी प्यालेसमा दिउँसो १ बजेदेखी बैठक बसिरहेको छ । आजको बैठकपछि केही समय सेलाएको राजावादी आन्दोलन फेरि जाग्ने दाबी गरिएको छ ।
यसअघि नवराजको अनुपस्थितिमा समितिको कार्यवाहक संयोजकको जिम्मेवारी सम्हालेका डा. जगमान गुरुङ पनि बैठकमा उपस्थित हुनुहुन्छ, भने सदस्य सचिव रवीन्द्र मिश्र भने हिरासतमै रहेकाले उहाँको उपस्थिति हुनुहुन्न ।
गत चैत १५ मा भएको तीनकुनेको आन्दोलनपछि सरकारले संयुक्त जनआन्दोलन समितिका संयोजक सुबेदीलाई अघोषित नजरबन्दमा राखेको थियो भने मिश्रलाई पक्राउ गरिएको थियो ।
सुबेदी गत साताबाट नजरबन्द मुक्त भएर फेरि समितिको जिम्मेवारीमा फर्किनुभएको हो । मिश्रको भने हिजो छैटौंपटक म्याद थप गरिएको छ । मिश्रसँगै पक्राउ परेका जनआन्दोलन परिचालन समितिका संयोजक डा. धवलशम्शेर राणा भने हाजिरी जमानीमा छुट्नुभएको छ ।
आजको बैठकले राजसंस्था पुनस्र्थापनाका लागि आन्दोलनको नयाँ कार्यक्रम तय गर्ने समितिका प्रवक्ता स्वागत नेपालले बताउनुभयो ।