काठमाडौं । प्रतिनिधिसभामा दर्ता भएको शिक्षकका माग सम्बोधन गर्ने सम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्ताव अगाडि नबढेपछि संसद्मै विपक्षी दलहरूले असन्तुष्टि जनाएका छन् । नेपाल समाजवादी पार्टीका अध्यक्ष समेत रहेका प्रतिनिधिसभा सदस्य महिन्द्र राय यादवले संसद्मा आएको प्रस्ताव अगाडि बढाउन आवश्यक रहेको बताउनुभयो ।
प्रतिपक्षका तर्फबाट राखिएको जरुरी सार्वजनिक महत्वको प्रस्तावबारे संसद्मा जानकारी गराउन माग गर्नुभएको छ । यसअघि विपक्षी दलहरूले शिक्षकका माग सम्बोधनका लागि प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव लगेका थिए । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे प्रस्तावक रहेको उक्त प्रस्तावमा विपक्षी दलका सांसदहरू समर्थक रहेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियार, नेकपा एकीकृत समाजवादीका सांसद शेरबहादुर कुँवर, आम जनता पार्टी आजपाका अध्यक्ष प्रभु साह र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी समर्थक रहेको प्रस्ताव प्रतिनिधिसभामा दर्ता भएको छ । विपक्षी दलहरूले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ७१ बमोजिम जरुरी सार्वजनिक महत्वको प्रस्ताव लगेका हुन् ।
तर, संसद्मा अगाडि नबढेको भनेर उनीहरूले संसद्मै असन्तुष्टि जनाएका हुन् । प्रस्तावमार्फत विपक्षी दलहरूले विगतमा नेपाल सरकार र नेपाल शिक्षक महासंघ बीच भएका सम्झौताहरू कार्यान्वयनको माग गरेका छन् । नेपाल शिक्षक महासंघ विगतको सहमति कार्यान्वयन र शिक्षा ऐन मागेर २८ दिनदेखि काठमाडौं केन्द्रित आन्दोलनमा छन् ।
समग्र शिक्षा क्षेत्रको उन्नयनका लागि महत्त्वपूर्ण मागहरू राखी स्थानीय तह, प्रदेश र राजनीतिक दलका केन्द्रीय कार्यालयहरू हुँदै शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा रिले अनशन पश्चात् काठमाडौं केन्द्रित शिक्षक आन्दोलनप्रति सरकार गम्भीर नबनेको विपक्षी दलहरूको आरोप छ ।