काठमाडौं । शिक्षकहरु विगत २७ दिनदेखि सडकमा छन् । कहिले चर्को घाम त कहिले झरीका बीच पनि उनिहरुले निरन्तर आन्दोलन गरिरहेका छन् । आफूहरूसँग गरिएको सम्झौताअनुसार विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित शिक्षकहरु गत चैत २० गतेदेखि सडक आन्दोलनमा छन् ।
काठमाडौंको नयाँ बानेश्वर–बबरमहल क्षेत्रको सडकमा शिक्षकहरूले निरन्तर प्रदर्शन गरिरहेका छन्। शिक्षकहरूको माग सम्बोधनका लागि सरकारले पटकपटक वार्ताको प्रयास गरे पनि असफल हुँदै गएको छ । आन्दोलनको क्रममा आज धेरै शिक्षकहरू थपिए । शिक्षकहरू थपिँदा आन्दोलनमा आज अहिलेसम्मकै बढी भीड देखिएको थियो ।
आन्दोलनरत शिक्षक र प्रहरीबीच हिजो झडप भएको थियो । झडपमा घाइते भएका ६२ जनामध्ये १२ जनाको अवस्था चिन्ताजनक रहेको नेपाल शिक्षक महासंघले जनाएको छ । महासंघले विज्ञप्ति जारी गरी घाइते शिक्षक कर्मचारीमध्ये झन्डै १२ जनाको अवस्था निकै चिन्ताजनक रहेको उल्लेख गरेको हो ।
यता, सांसदहरूले शिक्षकहरूलाई विद्यालय फर्किने वातावरण बनाउन माग गरेका छन् । आज प्रतिनिधिसभामा आकस्मिक र शून्य समयमा बोल्दै उनीहरूले शिक्षकको आन्दोलन लम्बिँदा विद्यार्थीहरूको भविष्य अन्योलमा परेको भन्दै सरकारको ध्यानाकर्षण गरेका छन् ।
शिक्षक आन्दोलनको माग सम्बोधन गर्नतर्फ सरकार अग्रसर हुनुपर्ने उनीहरूको आग्रह छ । साथै शिक्षकको माग सम्बोधन र शिक्षा ऐन निर्माणको विषयमा शिक्षामन्त्रीले सदनलाई जानकारी गराउनुपर्ने उनीहरूको माग छ ।
नेकपा एमालेका सांसद सूर्य थापाले संयमित भएर आन्दोलन गर्न शिक्षकहरूलाई आग्रह गर्नुहुन्छ । शिक्षकसँग विभिन्न सहमति गरेर कार्यान्वयन नगर्ने प्रवृत्तिले अहिलेको समस्या निम्तिएको भन्दै सांसद थापाले सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सरकार गम्भीर भए शिक्षा ऐन बनाउन समय नलाग्ने भन्दै सकारात्मक वातावरणका लागि संसद् मार्फत आग्रह गरिएको छ । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले शिक्षकहरूको माग पूरा नहुनुमा पछिल्ला तीन सरकार जिम्मेवार रहेको दाबी गर्नुहुन्छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले राज्य अधिनायकबाद तर्फ हिँडिरहेको भान भएको बताउनुहुन्छ ।
पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री समेत रहनुभएकी सांसद श्रेष्ठले शिक्षक आन्दोलनमा दमन भएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो । हिजोको आन्दोलनमा ६२ जना शिक्षक घाइते भएको भन्दै ६२ हजार शिक्षक घाइते हुन तयार रहेको शिक्षकहरु बताउछन् । शिक्षा ऐन जारी नभएसम्म आन्दोलन नरोकिनेमा उनिहरु प्रस्ट छन् । र निरन्तर सडकमा छन् ।
नेपाल शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले आन्दोलनको २७ औँ दिन पनि हजारौँ शिक्षक आन्दोलनको मोर्चामा डटिरहेको बताउनुभयो । शिक्षक कर्मचारी साथीहरू माग पुरा नहुँदासम्म थाक्ने, गल्ने तथा नभाग्ने दाबी उहाँको छ । शिक्षकका माग सम्बोधनका लागि विपक्षी दलहरूले आज संसद्मा जरुरी सार्वजनिक महत्वको प्रस्ताव पनि लगेका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले यस्तो प्रस्ताव लग्नुभएको हो ।
विगतमा नेपाल सरकार र नेपाल शिक्षक महासंघ बीच भएका सम्झौताहरु कार्यान्वयनको लागि नेपाल शिक्षक महासंघको आव्हानमा २७ औं दिनसम्म जारी रहेको शिक्षक सडक आन्दोलदनप्रति गम्भीर ध्यानाकर्षण भएको प्रस्तावमा उल्लेख छ ।
विद्यालय शिक्षा जस्तो महत्वपूर्ण विषयप्रति सरकारको वेवास्ता गैह्रजिम्मेवारपूर्ण व्यवहारको द्योतक भएको उल्लेख गर्दै संसद्मा छलफल आवश्यक रहेको भनिएको छ ।