काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आर्थिक वर्ष ०८२-०८३ को बजेटले आर्थिक क्षेत्रलाई थप चलायमान बनाउने विश्वास व्यक्त गर्नुभएको छ ।
आज काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले आ.व. ०८२-०८३ को बजेटले निजी क्षेत्रले उठाएका सवाललाई सम्बोधन गर्ने बताउनुभयो । उहाँले व्यापारीले व्यापार र उद्योगपतिले उद्योग सञ्चालन गर्नुपर्ने भन्दै सरकारले व्यापार गर्ने नभएको जिकिर समेत गर्नुभयो ।
‘व्यापारीले व्यापार गर्ने हो, उद्योगपतिले उद्योग खोल्ने हो । सरकारले व्यापार उद्योग गर्ने होइन । त्यस कारण निजी संस्थान हुनुपर्छ भन्ने मान्यता नेपाली कांग्रेसको रहेको छ,’ सभापति देउवाले भन्नुभयो, ‘आर्थिक वर्ष ०८२-०८३ को बजेटले निजी क्षेत्रले उठाएका सवाललाई सम्बोधन गर्नेछ । आर्थिक क्षेत्रलाई थप चलायमान गराउनेछ भन्ने मैले विश्वास लिएको छु ।’
सभापति देउवाले निजी क्षेत्रसँगको संवादबाट आगामी आर्थिक वर्षको बजेट राम्रो बनाउन मद्दत पुग्ने बताउनुभयो ।