काठमाडौं। आज संघीय संसदअन्तर्गत दुबै सदनका बैठक बस्दै छन्। संघीय संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजेका लागि तय भएको प्रतिनिधिसभा बैठकका लागि संसद सचिवालयले विभिन्न ४ वटा सम्भावित सूची तय गरेको छ ।
पहिलो कार्यसूचीमा विषयगत समितिमा हेरफेर गर्ने रहेको छ । जसअनुसार सभामुख देवराज घिमिरे प्रतिनिधि सभा अन्तर्गतको विषयगत समितिहरूमा सदस्यहरूको नाम हेरफेर गर्नुहुनेछ।
यस्तै अर्को कार्यसूचीमा वार्षिक प्रतिवेदन पेस गर्ने रहेको छ । सचिवालयका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७९÷८० र २०८०÷८१ पेश गर्नुहुनेछ ।
यस्तै व्यवस्थापन कार्य अन्तरगत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको प्रतिवेदन सहितको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने तयारी छ।
यस्तै पन्तले नै शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८१ लाई पारित गरियोस् भन्ने प्रस्ताव पनि प्रस्तुत गर्ने संसदका महासचिव पद्मप्रसाद पाण्डेयले बताउनुभयो। राष्ट्रियसभा बैठक भने दिउँसो सवा १ बजे बस्नेछ ।