काठमाडौं। आन्दोलनरत शिक्षकहरूले सडक आन्दोलनलाई थप चर्काउने भएका छन् । आइतबार भएको झडपपछि नेपाल शिक्षक महासंघले आफूहरूमाथि भएको अत्याचारको प्रतिकार गर्न आन्दोलन थप चर्काउने बताएको छ।
अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले एक विज्ञप्ती जारी गर्दै शान्तिपूर्ण आन्दोलनमा रहेका शिक्षक कर्मचारी माथि भएको यो क्रूर दमनको विरोधमा आफूहरूसँग उभिन हामी सबै पेसागत संस्था, आम शिक्षा सरोकार समूह तथा आम नेपालीलाई आह्वान गर्नुभएको छ।
सुवेदीले विज्ञप्तिमा उल्लेख गर्नुभएको छ,‘नेपाली शिक्षक–कर्मचारीहरू अग्रगामी विद्यालय शिक्षा ऐन बिना आफ्नो कार्यक्षेत्रमा नफर्कने कुरा पुनः उद्घोष गर्दै देशभरका सबै शिक्षक–कर्मचारी साथीहरूलाई आफ्ना साथीहरू माथि भएको यो अत्याचारको प्रतिकार गर्न अनिवार्य काठमाडौँ आइ आन्दोलनमा सहभागी हुन जोडदार अपिल गर्दछौँ ।’
हिजो शान्तिपूर्ण आन्दोलन र विरोध सभामा सरकारद्वारा संरक्षित केही भिजिलान्तेहरू पसेर ढुङ्गामुढा गरी स्थिति भड्काऊ बनाई त्यसैको आडमा प्रहरीबाट शिक्षक–कर्मचारीमाथि पानीको फोहरा हान्ने, ढुङ्गा हान्ने तथा निर्मम ढङ्गबाट लाठी प्रहार गर्ने काम भएको महासंघको आरोप छ । बानेश्वरमा भएको झडपमा ६२ जना शिक्षक तथा कर्मचारी तथा केही सञ्चारकर्मी घाइते भएका छन् । तीमध्ये झण्डै १ दर्जनको अवस्था निकै चिन्ताजनक रहेको छ ।
‘हामी सबै घाइते साथीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ । साथै यो घटनामा घाइते भएको सबैको उपचारको जिम्मा लिन सरकारसँग जोडदार माग गर्दछौँ । हामी सरकारबाट भएको यो ज्यादतीको घोर निन्दा तथा भत्र्सना गर्दछौँ ।’ विज्ञप्तीमा भनिएको छ।