काठमाडौं । राप्रपाका महामन्त्री तथा जनआन्दोलन परिचालन समितिका संयोजक डा.धवलशम्शेर राणाले विचार स्वतन्त्रतामा बन्देज लगाउने सरकारको दुष्प्रयासको विरोध र आस्थाका बन्दीको रिहाइको माग गर्न सोमबार जनप्रदर्शनमा सहभागी हुन सबै प्रजातन्त्रवादी, राष्ट्रवादीलाई आह्वान गर्नुभएको छ ।
भारतमा स्वास्थ्य परीक्षणपश्चात् आजै बेलुकी स्वदेश फर्कने बताउँदै उहाँले भोलि प्रदर्शनी मार्गमा हुने प्रर्दशनमा सहभागी हुने जानकारी गराउनुभएको हो । ‘वैशाख १५ गते राप्रपा नेपालको आयोजनामा आस्थाका बन्दीहरूको तत्काल रिहाइ र विचारका आधारमा बन्देज लगाउने ऐन बनाउन पाइँदैन भन्दै काठमाडौँको प्रदर्शनी मार्गमा हुने जनप्रदर्शनमा सहभागी हुन सम्पूर्ण हिन्दुवादी, राजावादी, राष्ट्रवादी र प्रजातन्त्रप्रेमीहरुमा हार्दिक अनुरोध गर्दछु,’ राणाले भन्नुभएको छ ।
देशले अहिले परिवर्तन खोजेको र जनता स्थिरता र समृद्धिको पक्षमा रहेको बताउँदै उहाँले देश र जनतालाई केन्द्रमा राखेर एक पटक सम्पूर्ण जनता जुरुक्क उठ्नुपर्ने बेला आएको जिकीर गडर्नुभएको छ । राजसंस्था र हिन्दुराष्ट्रको निमित्त समान विचार बोक्ने दल, सङ्घसंस्था, अभियान, समूहद्वारा आयोजना हुने कार्यक्रमहरूमा राप्रपाको साथ सहयोग रहने समेत राणाले दोहोर्याउनु भएको छ ।