काठमाडौं । नेपालबाट विश्वमा शान्ति, मानवता र करुणा विस्तार भइरहेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताउनु भएको छ । लुम्बिनीमा जारी चौंथो एसियाली बौद्ध सांस्कृतिक महोत्सवको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले विश्वमा एकातर्फ अशान्ति मच्चिरहेको बेला अर्कोतर्फ नेपालको अगुवाइमा गौतम बुद्धका महत्वपूर्ण विचार प्रवाह भइरहेको बताउनु भएको हो ।
उहाँले संसारमा अशान्ति मच्चिरहेको बेला बुद्धका विचारहरूको महत्व बढ्दै गएको बताउँदै बुद्धका विचारहरूलाई संसारभर अघि बढाउने बेला आएको बताउनुभयो ।
लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्यारक्याल लामाको अध्यक्षतामा चौथो एसियाली बौद्ध सांस्कृतिक महोत्सवको उद्घाटन भएको हो । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डे, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलगायतको आतिथ्यता थियो । महोत्सवमा ४० देशका प्रतिनिधि सहभागी हुने बताइएको छ ।
यस्तै प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष ओलीले आफ्ना पार्टीका सांसदहरूलाई राष्ट्रियताको पक्षमा स्पष्ट अडान राख्न निर्देशन दिनुभएको छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बसेको एमाले संसदीय दलको बैठकलाई सम्बोधनका क्रममा उनले सांसदहरूलाई राष्ट्रियताको पक्षमा स्पष्ट अडान राख्न निर्देशन दिनुभएको हो ।
राष्ट्रियताको पक्षमा स्पष्ट दृष्टिकोण राख्ने, अडान राख्ने, उभिने काम गर्नुपर्ने ओलीको भनाई थियो । उहाँले सत्यको उजागर गर्न र राष्ट्रियताको पक्षमा स्पष्ट अडानसहित उभिने काम गर्न सांसदहरूलाई निर्देशन दिँदै राष्ट्रलाई कमजोर पार्ने प्रवृत्तिको तीखो आलोचना गर्न सुझाव दिनुभयो ।