काठमाडौं । सत्ताको नेतृत्वकर्ता नेकपा एमालेले मुलुकमा अराजकता र अस्थिरता चाहने शक्तिहरूले नेपाली समाजलाई अस्थिर बनाउन खोजिरहेको बताएको छ । आजबाट सुरु प्रतिनिधिसभाको बजेट अधिवेशनमा पार्टीका तर्फबाट धारणा राख्दै एमाले सांसद गोकर्ण विष्टले अराजक र अस्थिरतामा मुलुकलाई लैजाने प्रयासलाई संवैधानिक कानुनी तरिकाबाट समाधान गरिने बताउनुभयो ।
अराजकता र अस्थिरता चाहने शक्तिहरूले नेपाली समाजलाई अस्थिर बनाउन खोजिरहेको बताउँदै विष्टले यस्ता विषयलाई संवैधानिक कानुनी तरिकाबाट समाधान गर्दै व्यवस्था र संसदीय मर्यादालाई बलियो बनाउन सकिने र सरकार त्यो बाटोमा अगाडि बढ्नुपर्ने बताउनुभयो ।
विष्टले उत्पन्न भएका अनेक सङ्कटहरूको समाधान लोकतान्त्रिक व्यवस्थाबाटै समाधान गर्नुपर्ने बताउनुभयो । उहाँले गत चैत १५ गते राजावादीहरूले काठमाडौँको तीनकुनेमा गरेको हिंसात्मक कार्यक्रमलाई लक्षित गर्दै मुलुकमा उत्पन्न समस्यालाई यही व्यवस्थाभित्र रहेर समाधान गरिने बताउनुभएको छ ।