काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धनबिच कुनै विवाद नरहेको बताउनुभएको छ । थाइल्यान्डको भ्रमण सकेर आज काठमाडौँ आइपुग्नु भएका सभापति देउवाले त्रिभुवन बिमानस्थलमा सञ्चारकर्मीको प्रश्नमा सत्ता गठबन्धनबीच कुनै खटपट नरहेको बताउनुभएको हो ।
सत्ता समीकरण परिवर्तन हुने कुरामा समेत सत्यता नरहेको सभापति देउवा दाबी गर्नुभएको छ ।
त्यसैगरी परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले सरकार परिवर्तनको कुरा हल्ला मात्र रहेको बताउनुभएको छ । आज थाइल्यान्डबाट स्वदेश फर्किनुभएकी मन्त्री देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै सरकार परिवर्तनका कुरा मनोरञ्जनका लागि गरिएको टिप्पणी गर्नुभयो ।
पछिल्लो समय आएका विभिन्न समाचार पढेर आफुपनि छक्क परेको बताउँदै उहाँले प्रधानमन्त्री केपी शर्मा ओली र सभापति शेरबहादुर देउवाको बिचमा यो विषयमा कुराकानी भएकाले सरकार परिवर्तनको कुरा हल्लामात्रै भएको दाबी गर्नुभयो ।
उहाँले थाइल्यान्डमा कुनै पनि दुई पक्षीय भेटघाट नभएको बताउँदै सभापति देउवाको व्यक्तिगत भ्रमण तथा उपचारका लागि गएका र आफू कार्यक्रमका लागि त्यहाँ गएको बताउनुभयो । त्यसअघि बिमस्टेक बैठकमा गएका बेला दुई पक्षीय भेटघाट भएको तर यो भ्रमणमा केही पनि नभएको उहाँले बताउनुभयो ।