काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले उपमेयरमा निर्वाचित भएर आफूले राम्रो काम गरेको देख्न नचाहनेहरुले आफूमाथि घेराबन्दी गरेको बताउनुभएको छ । लोकतन्त्र दिवसको अवसरमा बिहीबार भृकुटीमण्डपमा नेकपा एमालले आयोजना गरेको यूथ सेलिब्रेसन कार्यक्रममा बोल्दै आफूले राम्रो काम गरेपछि निरन्तर आक्रमण भएको महसुस गरेको बताउनुभयो ।
संसारका विभिन्न ठाउँमा गएर आफूले गरेको काम र अनुभव साट्ने र सिक्ने यात्रा निरन्तर गरिरहेको बताउँदै एमाले, प्रधानमन्त्री केपी ओली र आफूमाथिको आक्रमणलाई अझ उत्कृष्ट कामबाटै परास्त गर्ने दाबी गर्नुभयो । प्रधानमन्त्री ओलीले पनि काम गरेकै र राष्ट्रवादी भएकै कारणले थुप्रै आक्रमणहरु खेप्नुपरेको डंगोलको जिकीर छ।