काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले अब सरकार धेरै समय नटिक्ने निष्कर्ष निकालेको छ । आज सिंहदरबारमा बसेको संसदीय दलको बैठकले अब केपी ओली नेतृत्वको सरकार धेरै समय नटिक्ने निष्कर्ष निकालेको हो ।
बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओली नेतृत्वको कांग्रेस–एमाले सरकार पूर्ण रूपमा असफल भएको भन्दै यस्तो अवस्थामा सरकार तलमाथि भएको खण्डमा के गर्ने भन्नेबारे भने प्रचण्डले स्पष्ट जवाफ नदिएको जनाइएको छ ।
यदि सरकारमा जानुपर्ने बाध्यता आइलागेको खण्डमा बाहिरै बसेर समर्थन गर्ने वा सरकारमै सहभागी हुने भन्नेमा पार्टीभित्र एकमत हुनु आवश्यक रहेको प्रचण्डले बैठकमा ब्रिफिङ गर्नुभएको थियो । सरकार बाहिर बसेर समर्थन गर्दा सहयात्री दलले नमान्ने, सरकारमै सहभागी भए जनतासँग गरेको प्रतिबद्धतामाथि ठेस लाग्ने भएकाले नेताहरुमा अन्यौल्ता देखिएको बताइएको छ ।
नयाँ समीकरणका विषयमा कांग्रेस सभापति शेरबहादुर देउवा थाइल्यान्डबाट फर्किएपछि छलफल गर्ने र अबको प्रधानमन्त्री शेरबहादुर देउवा नै हुने प्रचण्डले जिकीर गर्नुभएको छ । कांग्रेस सभापति उपचारका लागि थाइल्यान्ड गएको भनिए पनि कतिपयले राजनीतिक रूपमा समेत हेरिरहेको बेला प्रचण्डले नयाँ समिकरण बन्ने संकेत गर्नुभएको हो ।
यस्तै प्रचण्डले सार्वजनिक मञ्चबाट पटक पटक सरकार ढल्ने बताउँदै आउनुभएको छ । यद्यपि सरकार परिवर्तनबारे सरकारका मुख्य घटक देउवाले पार्टीको आन्तरिक तथा बाहिरी फोरममा भने आफ्नो धारणा सार्वजनिक गर्नभएको छैन् ।