काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले इञ्जिनीयरलाई राष्ट्रको आवश्यकता र जनताको माग अनुसारको विकास, निर्माणमा जोड दिनुपर्ने भन्दै सोही अनुसार काम गर्न आग्रह गर्नुभएको छ ।
सेन्टर फर डेमोक्रेटिक इञ्जिनीयर्स एसोसियसन (सिडेन)को आज ललितपुरमा आयोजित दोस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री सिंहले निर्माण हुने संरचना र विकासका आयोजनासम्बन्धी योजना बनाउँदा राष्ट्रिय र जनताका आवश्यकता बुझेर सकारात्मक परिवर्तनमा लाग्नुपर्ने बताए। नवप्रवर्तन र प्रविधिमा आधारित योजना कार्यान्वयन गरेमा उल्लेख्य प्रतिफल आउने बताउनुभएको हो ।
लोकतान्त्रिक मूल्य, मान्यता अनुसार शासन प्रणाली स्थापित नभएसम्म नेपालीको भविष्य सुनिश्चित हुँदैन भनेर २०४६ र २०६२–६३ को परिवर्तन ल्याएको बताउँदै उहाँले प्राप्त अधिकारलाई सुरक्षित गर्दै राजनीतिक स्थायित्व र स्थिरताका लागि आर्थिक समृद्धितर्फ सबैले ध्यान दिनु जरुरी भएको र यसका सबै सबै राजनीतिक दलले आ–आफ्नो कमजोरी सुधार गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।
यस्तै सिडेनका केन्द्रीय अध्यक्ष सुवासचन्द्र बरालले विकास निर्माणसँग जोडिएका विषयमा आधारित रहेर दिगो विकासका लागि सबैले सहकार्य गर्नुपर्ने बताउनुभयो । उहाँले दिगो विकासका लागि राजनीतिक प्रतिबद्धता आवश्यक रहेको बताउँदै बरालले सिडेनको यो सम्मेलनले यस क्षेत्रमा रहेका चुनौतीलाई समाधान गर्न सहयोग पुग्ने बताउनुभयो ।