Aug 26 2026 | २०८३, भाद्र १० गते

२०८३, भाद्र १० गते
  • यो साता चर्चामा :
images

शिक्षक आन्दोलन थप पेचिलो बन्दै,आन्दोलनको २० औं दिनमा शिक्षामन्त्रीद्वारा राजिनामा, ऐन नपाउँदासम्म आन्दोलन जारी राख्ने महासंघको अडान कायमै (खास खबर)

शिक्षक आन्दोलन थप पेचिलो बन्दै,आन्दोलनको २० औं दिनमा शिक्षामन्त्रीद्वारा राजिनामा, ऐन नपाउँदासम्म आन्दोलन जारी राख्ने महासंघको अडान कायमै (खास खबर)

  • सोमवार, बैशाख ८ २०८२

  • 819
    SHARES

  • शिक्षक आन्दोलन थप पेचिलो बन्दै,आन्दोलनको २० औं दिनमा शिक्षामन्त्रीद्वारा राजिनामा, ऐन नपाउँदासम्म आन्दोलन जारी राख्ने महासंघको अडान कायमै (खास खबर)

    काठमाडौं । शिक्षकहरुले शैक्षिक हड्ताल गरेर जारी राखेको आन्दोलन थप पेचिलो बन्दै गएको छ । शिक्षा ऐन जारी हुनुपर्ने माग राखेर शिक्षकहरूले सडक तताइरहेका बेला शिक्षा मन्त्री विद्या भट्टराईले आज पदबाट राजीनामा दिनुभएको छ । शिक्षामन्त्री भट्टराईले पदबाट राजीनामा दिएसँगै शिक्षकहरुको मागका सम्बन्धमा सरकार अव थप दबाबमा परेको छ ।

    नेपाल शिक्षक महासंघ २० दिनदेखि काठमाडौं केन्द्रित सडक आन्दोलनमा रहेको छ । शिक्षक महासंघका जायज र सम्भव हुने माग पूरा गर्न सरकार र संसद्ले पहल गरिरहेको सरकारले दाबी गरिरहेको बेला शिक्षामन्त्रीको राजिनामा आएपछि आन्दोलनको बिषय थप पेचिलो वनेको हो । प्रधानमन्त्री केपी शर्मा ओली र प्रतिनिधिसभाका सभामुुख देवराज घिमिरेले नेपाल शिक्षक महासंघका पदाधिकारीसँग यही वैशाख ५ गते बेग्लाबेग्लै भेट गरी शिक्षक आन्दोलन र समस्या समाधानका विकल्पका विषयमा छलफल गर्नुभएको थियो ।

    निकासकै सन्दर्भमा नेकपा एमालेका महासचिव शङ्कर पोखरेल, नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पनि आ–आफ्नोतर्फबाट पहल गर्नुभएको छ । उच्चस्तरीय राजनीतिक पहलसँगै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र महासंघबीच अनौचारिक तहमा कुराकानी भइरहेको थियो ।

    आज मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनरत शिक्षकलाई तत्काल वार्तामा आउन आह्वान गर्नुभएको छ । काठमाडौंमा नेपाल प्रगतिशील प्राध्यापक संगठनको सम्मलेनमा उहाँले सहमति गरेर कार्यक्षेत्रमा फर्कन शिक्षकलाई आग्रह गर्नुभएको हो ।

    “सरकार सम्भव हुने माग पूरा गर्छ । तुरुन्त वार्तामा आएर विषय टुंग्याउनुस्, सहमति गर्नुस् र फर्किनुस्,” प्रधानमन्त्री ओलीको आग्रह छ । नेपाल शिक्षक महासंघले औपचारिक वार्ता नै नगर्ने भनेकामा प्रधानमन्त्री ओलीको आपत्ती छ । प्रधानमन्त्री ओलीले विद्यालय शिक्षा ऐनका निम्ति यतिविघ्न दुःख गर्नु नपर्ने समेत दाबी गर्नुहुन्छ । जायज माग पुरा गरिदिने सरकार भएको दाबी प्रधानमन्त्रीको छ ।

    शिक्षा मन्त्रालयले विद्यालय शिक्षा विधेयक, २०८१ ले नसमेटेका व्यावहारिक र न्यायिक मागलाई पारस्परिक संवादका आधारमा प्याकेजमा सम्बोधन गर्नेगरी तयारी भइरहेको जनाएको छ ।

    शिक्षकहरुको लगातारको आन्दोलनले बैशाख ११ गतेदेखि तोकिएको कक्षा १२ को परिक्षा पनि सुरु हुने नहुने भन्नेवारे अन्यौलता बढ्दै गएको छ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परिक्षा बैशाख ११ मै हुने दाबी गर्दै आन्दोलन छाडेर परीक्षाको तयारीमा लाग्न शिक्षकहरुलाई आग्रह गरेको छ ।

    राष्ट्रिय परिक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मा आन्दोलन गर्ने शिक्षकहरुको अधिकारको कुरा भएपनि कक्षा १२ को परिक्षा तोकिएकै मितिमा हुनुपर्नेमा जोड दिनुहुन्छ । बर्षभरि पढाएर अन्त्यमा परिक्षा लिन्न भन्न नमिल्ने तर्क अध्यक्ष शर्माको छ ।

    अहिले शैक्षिक हड्तालले विद्यार्थी भर्ना कार्यक्रम सुरु हुन सकिरहेको छैन । विद्यार्थीसंगै अभिभावक पनि अन्यौलमा रहेका छन् । नेपाल अभिभावक महासंघ नेपालका अध्यक्ष सुप्रभात भण्डारीले शिक्षकहरुले आन्दोलन गर्नुपर्ने परिस्थिति निर्माण हुनु असाध्यै दुर्भाग्यपूर्ण रहेको बताउनुहुन्छ । उहाँ शिक्षकहरुले खुसी भएर कक्षा कोठामा जाने वातावरण बन्नुपर्नेमा जोड दिनुहुन्छ ।

    साथै, शिक्षकहरुले आफ्नो माग पूरा गराउन पठनपाठन नै बन्द गराएर आन्दोलनमा होमिँदा विद्यार्थीहरुको पढ्न पाउने अधिकार, मानवअधिकार, बालअधिकारमा आघात पुगेको भण्डारीको दाबी छ । हरेक दिन सडकमै आई नयाँ शिक्षा ऐन मागका पक्षमा आवाज उठाइरहेको शिक्षक महासंघले आन्दोलनका कार्यक्रम अवधिलाई छोट्याउँदै आएको छ ।

    नयाँ शैक्षिकसत्र आरम्भ भइसकेको अवस्थामा भर्ना प्रक्रियासहित पठनपाठन सञ्चालनका लागि स्थानीय तहहरुले सार्वजनिक आग्रह पनि गर्न थालेका छन् । लगातारको आन्दोलनले शिक्षकहरु पनि थकित हुन थालेका छन् । शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले अनौपचारिक कुराकानी भए पनि ठोस उपलब्धि हासिल नभएकाले अझै केही दिन आन्दोलन गर्नुपर्ने स्थिति रहेको बताउनुहुन्छ । यो आन्दोलन शिक्षकहरुको मात्र नभई समग्र शैक्षिक आन्दोलन भएको भनाई उहाँको छ ।

    सरकार र तत्कालीन आन्दोलनरत संयुक्त राहत शिक्षक संयुक्त आन्दोलन परिचालन समितिबीच २०८० असोज ५ र १२ गते विभिन्न सहमति भएको थियो । विगतका सहमतिका आधारमा विद्यालय शिक्षा विधेयक, २०८१ छिटो पारित हुनुपर्नेलगायत माग राखेर शिक्षकहरुको आन्दोलन जारी छ ।

    सरकारका तर्फबाट सो विधेयक पारित गर्न आवश्यक समन्वय र सहजीकरण गर्ने प्रतिबद्धतासहित सो प्रयोजनका लागि यही वैशाख १२ गते शुक्रबार दिउँसो १ बजे सङ्घीय संसद् बैठकको आह्वान गर्ने निर्णय भएको छ ।

    तर आज शिक्षामन्त्री विद्या भट्टराईले पदबाट राजीनामा दिएसँगै शिक्षकहरुको मागका सम्बन्धमा सरकार थप दबाबमा परेको हो । सरकार अव थप जिम्मेवार बन्दै शिक्षकसंग वार्ता गरेर तत्काल समस्याको समाधानमा जोड दिनुपर्छ । शिक्षकहरुले पनि अविलम्ब वार्तामा बसेर शैक्षिक हड्ताल अन्त्य गरि पठनपाठन सुचारु गर्न ढिला गर्नुहुदैन । शिक्षकका जायज माग सम्वोधन गर्नका लागि बार्ता र सम्वाद मार्फत निकास दिनु जरुरी छ ।

     


    सोमवार, बैशाख ८ २०८२०८:०५:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij