काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको ढुकुटीले धान्न सक्ने र सम्भव हुने मागलाई राज्यले सम्बोधन गर्ने भएकाले अविलम्ब वार्तामा बसेर विद्यालय फर्कन आन्दोलनरत शिक्षकहरूलाई आह्वान गर्नुभएको छ। नेपाल प्रगतिशील प्राध्यापक संगठनको ११ औँ राष्ट्रिय सम्मेलनको आज कीर्तिपुरमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले अहिलेको सरकार दमनकारी नभई लोकतान्त्रिक भएकाले ट्रेड युनियनको अधिकारको रक्षासहित पेसागत क्षेत्रका जायज मागलाई सम्बोधन गरिने बताउनुभएको हो ।
‘विद्यालय शिक्षा विधेयक संसदीय समितिमा विचाराधीन छ । ऐन ल्याउन भनेर यत्रा शिक्षकहरू सडकमा आन्दोलनमा आउनु पर्दैन । एसइईको उत्तरपुस्तिका परीक्षण गर्नूस् ।”, प्रधानमन्त्री ओलीले भन्नुभयो । प्रधानमन्त्री ओलीले प्रतिगामी, उग्रवामपन्थी, विकृति र विसङ्गतियुक्त प्रवृत्तिहरूविरुद्ध प्राध्यापकहरूले बौद्धिक रूपमा सक्रियता देखाउनुपर्ने बताउनुभयो ।
शिक्षालाई हरेकको पहुँचभित्र कसरी पु¥याउने र गुणस्तरीय शिक्षा कसरी दिन सकिन्छ भनेर सोच्न आग्रह गर्दै सङ्गठनको जन्म नै अधिकार प्राप्तिको आन्दोलनका क्रममा भएकाले आगामी दिनसम्म उच्चशिक्षा क्षेत्रमा गरिनुपर्ने सुधारका लागि प्रभावकारी भूमिका निर्वाह गर्न प्रधानमन्त्री ओलीले आग्रह गर्नुभएको छ ।
तर २० दिनदेखी आन्दोलन गर्दै आएको शिक्षक महासंघले भने आफुहरुको माग पूरा नभएसम्म आन्दोलन नरोक्ने चेतावनी दिएको छ । सरकारले पटक पटक माग सम्बोधन गर्ने भन्दै झुक्याउँदै आएका कारण यो अन्तिम र निर्णायक आन्दोलन भएको महासंघको भनाई छ । शिक्षक महासंघका अध्यक्ष लक्ष्मिकिशोर सुवेदीले शिक्षकहरुको आन्दोलन निर्णायक चरणमा पुगेकाले अझै केही दिन आन्दोलनलाई निरन्तरता दिइने बताउनुभयो । शिक्षकहरुले सरकारले ऐन जारी गरेको दिन मात्रै आन्दोलन रोक्ने अडान राख्दै आएका छन् ।