काठमाडौं । राजतन्त्र पुनःस्थापनाको माग राखेर चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको राप्रपाले आज पनि काठमाडौंमा प्रदर्शन गरेको छ ।
राप्रपाका सांसदहरूले आज सिंहदरबारभित्रै प्रदर्शन गरे । सिंहदरवारस्थित पार्टीको संसदीय दलको कार्यालयमा छलफल पछि बाहिरिने क्रममा उनीहरूले विभिन्न नारा लेखिएको पम्प्लेट प्रदर्शन गरेका थिए ।
सोही क्रममा राप्रपा सांसदहरूको पम्प्लेट प्रहरीले खोसेका थिए । यद्यपि उनीहरूका गतिविधि शंकास्पद देखिन थालेपछि प्रहरीले भ्यानमा राखेर बाहिर ल्याएको थियो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसहित आज सात जना नेता पक्राउ परेका थिए । केहि घण्टामै सातै जनालाई रिहा गरिएको छ । उनीहरु करिब ४ घण्टापछि छाडिएका थिए ।
राप्रपाले तीनकुनेमा भएको घटनाको न्यायिक छानबिन आयोग गठन र आफ्ना नेताहरूको रिहाइ गर्न माग गरेको छ । सिंहदरवारबाट बाहिरिँदै लिङ्देनले भन्नुभएको थियो, ‘हाम्रा निर्दोष नेताहरूलाई रिहाइ गर्न माग गरेका छौँ ।’ अध्यक्ष लिङ्देनले सरकारले लोकतान्त्रिक अधिकार खुम्च्याउन खोजेको आरोप समेत लगाउनुभयो ।
राप्रपाले बैठक बसेर शान्तिपूर्ण प्रदर्शनमा सहभागी हुन कार्यक्रमस्थलतर्फ जाँदै गरेका अध्यक्ष लिङ्देनसहितका नेतालाई पक्राउ गरिएकोले अविलम्ब रिहाइको माग गरेको थियो ।
केहि दिन अघि, राप्रपा अध्यक्ष लिङ्देनले वैशाख ७ गते निषेधित क्षेत्रमा प्रदर्शन गर्ने र आवश्यक परे सबै नेता सामूहिक रूपमा थुनामा जान तयार रहेको बताउनुभएको थियो ।
पछिल्लो समय भएको राजावादीको प्रर्दशनलाई सरकारले नजिकबाट नियालिरहेको छ । जबरजस्ती र विध्वंसात्मक गतिविधिले देशलाई अस्थिरतातर्फ लैजाने भन्दै सबैले सचेत हुनुपर्नेमा सरकारले जोड दिएको छ ।
गृहमन्त्री रमेश लेखक गणतान्त्रिक संविधानलाई समाप्त पार्ने अधिकार कसैलाई पनि नभएको बताउनुहुन्छ । पाँच÷पाँच वर्षमा आवधिक निर्वाचनमा गएर आफूलाई मन लागेको पार्टी र नेतालाई जिताउन पाइने भन्दै लोकतन्त्रभित्रै बसेर आफ्ना गतिविधि गर्न गृहमन्त्री लेखक आग्रह गर्नुहुन्छ ।
यता, पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्र गम्भीर खतरामा पर्यो भनेर सोच्न आवश्यक नरहेको जिकिर गर्नुहुन्छ । दलहरुको बीचमा गणतन्त्रमा कहिल्यै पनि विमति नरहेको अध्यक्ष प्रचण्डको दाबी छ ।
राजावादीहरुको आन्दोलन चलिरहँदा प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वैशाख ११ गते राजतन्त्र फालेर गणतन्त्र स्थापना भएको अवसरमा आयोजना हुन लागेको युवा महोत्सवमा सहभागी हुन केहिदिन पहिले अपिल गर्नुभएको थियो ।
०६३ साल वैशाख ११ गतेसम्म राजाले अधिकार खोसेर जनताई रैतीमा परिणत गरेको प्रधानमन्त्रीको भनाई छ । प्रमुख तीन ठूला दलहरूका शीर्ष नेताहरुले राजा ल्याउने नाममा भइरहेको आन्दोलनलाई गैरराजनीतिक, हिंस्रक र आपराधिक गतिविधिको संज्ञा दिएका छन् । अहिले प्राप्त संघीय गणतन्त्रसहितको व्यवस्था जोगाउन तीनै नेता एकै ठाउँ उभिने भनिरहेका छन् । व्यवस्थाविरोधी कुनै पनि गतिविधिविरूद्ध एकजुट भएर उभिने उनिहरुले बैठक नै बसेर निष्कर्ष निकालेका हुन् ।