काठमाडौं । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस र एमालेभित्र असन्तुष्टि बढ्दै गइरहेको बताउनुभएको छ । आज विराटनगरमा पत्रकारसँग कुरा गर्दै असन्तुष्टिका कारण सरकार परिवर्तन हुन सक्ने र परिस्थिति गम्भीर बन्दै गएको दाबी गर्नुभयो ।
उहाँले ठूलो दलको नेता प्रधानमन्त्री बन्नुपर्ने बताउँदै कांग्रेसलाई समर्थन गर्न सकिने तर भ्रष्टाचारका विषयमा भने कसैको पनि समर्थन नगर्ने बताउनुभयो । जनमत र जनाधारका दृष्टिकोणले गणतन्त्रमाथि कुनै खतरा नरहेको उहाँको भनाई छ ।
अहिले नै गणतन्त्रप्रति त्यस्तो गम्भीर खतरा आयो भन्ने सोच्नुपर्ने आवश्यकता नभएको भन्दै अध्यक्ष प्रचण्डले गणतन्त्रको रक्षाका लागि दलहरू एक हुनै पर्ने, नत्र गणतन्त्र खतरामा पर्ने भन्ने भाष्य ठीक नहुने बताउनुभयो ।
शनिवार बालुवाटारमा भएको तीन दलका शीर्ष नेताहरूबीचको छलफल केवल शान्ति प्रक्रियाको सन्दर्भमा रहेको र यसबाट वर्तमान गठबन्धनलाई माओवादीले समर्थन गरेको भन्ने चर्चा गलत रहेको बताउनुभएको छ । प्रचण्डका अनुसार गणतन्त्र नामले मात्र नभई कामले बच्नुपर्ने भन्दै दलहरूले राम्रो काम गर्न सके गणतन्त्र थप संस्थागत हुँदै जाने विश्वास व्यक्त गर्नुभयो ।
राष्ट्रपति तथा उपराष्ट्रपतिलाई राजनीतिमा आउन संवैधानिक, कानुनी वा अन्तर्राष्ट्रिय परम्पराले नरोक्ने उहाँको भनाइ छ ।