काठमाडौं । प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर बनेको केपी ओली नेतृत्वको सरकार गठन भएको केहि महिनाबाटै ओली नेतृत्वको सरकार ढल्ने हल्ला र चर्चा अहिले सरकार बनेको नौ महिना पुग्दासम्म पनि जारी छ ।
प्रमुख प्रतिपक्षी र प्रतिपक्षी दलहरुले यो सरकार नटिक्ने दाबी गर्दै आजै ढल्छ भोलि नै ढल्छ भनिरहेका छन् । यता सत्तारुढ दल, मन्त्रीहरु र प्रधानमन्त्री स्वंम आफैले पनि सरकार ढल्दैन भनेर दिनहुँजसो प्रष्टिकरण दिनुपरेको छ ।
केहि दिन पहिले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ बर्षसंगै ओली सरकार ढल्ने बताउनु भएको थियो । त्यसपछि फेरि सरकार ढल्ने र नढल्नेबारे टिकाटिप्पणी सुरु भएको छ । हुन त बाहिर जे जस्ता टिप्पणी आए पनि सरकार ढल्दैन भनेर स्पष्टिकरण दिईरहन सरकारलाई पनि जरुरी छैन । किनकि बलियो भनिएको सरकारले जनतालाई नतिजा दिने गरि काम गर्ने हो । सरकार ढल्दैन भनेर स्पष्टिकरण दिईरहनु नपर्ने हो ।
आजै मात्र प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार ढल्ने हल्ला र चर्चाका पछाडि कुनै सत्यता नरहेको बताउनु भएको छ । प्रधानमन्त्री ओली कांग्रेस र एमाले जस्ता ठूला र इतिहास बोकेका दलहरुले देशमा विकास र सुशासन दिनका लागि एकसाथ मिलेर सरकार गठन गरिएको बताउनुहुन्छ । ढुक्कका साथ विकास निर्माणका काममा लाग्न प्रधानमन्त्रीको आग्रह छ । हल्लाको पछाडि लाग्नुपर्ने आवश्यकता नै छैन, प्रधानमन्त्री ओलीको दाबी छ ।
त्यसो त सरकारका कामकारवाहीप्रति सत्तारुढ दलकै नेताहरु पनि सन्तुष्ट छैनन् । विभिन्न असन्तुष्टिका आवाजहरु वाहिर आईरहेका छन् । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सरकारको बारेमा निरन्तर असन्तुष्टि व्यक्त गर्दै आउनुभएको छ ।
नेपाली कांग्रेसका नेता डा.गोविन्द पोखरेलले पार्टी सभापति शेरबहादुर देउवाले चाहँदासम्म वर्तमान सरकार तलमाथि नहुने बताउनुहुन्छ । उहाँले सरकारको गतिविधिप्रति कांग्रेसका नेताहरुको असन्तुष्टि रहेपनि तत्कालै सत्ता समीकरणमा कुनै फेरबदल नआउने बताउनु भएको हो ।
एमालेको मात्रै सरकार छ भनेजस्तो गरी भएका केही गतिविधिको कांग्रेसका नेताहरुले विरोध गरेको कांग्रेस नेताहरुको दाबी छ । कांग्रेस महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले एक हदसम्म सरकारको बारेमा धैर्यता नै गरेको पाखरेलको भनाई छ ।
सत्तारुढ दल एमालेका नेता एवं प्रतिनिधि सभा सदस्य ठाकुरप्रसाद गैरेले नेपाली कांग्रेसका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगनकुमार थापालाई पार्टी महाधिवेशनको रङ्ग सरकारभित्र नघुसाउन आग्रह गर्नुहुन्छ । महामन्त्रीद्वयले सरकारसँगको असन्तुष्टिको विषय सार्वजनिक रुपमा भन्दै हिँड्ने भन्दा पनि संयन्त्रमा राखेर छलफल गर्नुपर्ने गैरेको तर्क छ ।
सरकारको स्थायित्व र दिगोपना आफैंमा समृद्घिको पहिलो सर्त समेत हो । राजनीतिक स्थायित्व नभएका देशमा नागरिकले चाहेको प्रगति सम्भव हुँदैन । त्यसैले नेतृत्व तहका जिम्मेवार पदाधिकारीहरूबाट राजनीतिक अस्थिरता निम्त्याउने खालका विरोधाभाषपूर्ण र अस्पष्ट अवधारणाहरू आउनु राम्रो होईन । तसर्थ राजनीतिक अस्थिरताको बहस गर्नुभन्दा नेतृत्व उन्नत परिणाम प्राप्त गर्न केन्द्रित हुनुपर्छ ।