काठमाडौं । केपी ओली नेतृत्वको वर्तमान सरकारबारे आम जनता र सत्तारुढ गठवन्धनका नेताहरुले नै असन्तुष्टि व्यक्त गरिरहेका बेला आज पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा पदाधिकारी बैठक बस्यो र सरकारका कामकारवाहीबारे छलफल भयो। बैठकले सरकारले कार्यक्षमता बढाउनुपर्ने कांग्रेसको निष्कर्ष छ ।
बैठकमा नेताहरुले सरकारले पर्फमेन्स अझ राम्रो बनाउनुपर्छ भनेर धारणा राखेको प्रवक्ता डा. प्रकाश शरण महतले जानकारी दिनुभयो । नेताहरूको धारणामा सबै सहमत भएको उहाँको भनाई छ ।
गठबन्धनमा समन्वयको आवश्यकता भएको र नियुक्तिका कुराहरूमा पनि सन्तुलनमा आवश्यकता भएको बताउँदै महतले पार्टीगत आवद्धता भन्दा पनि व्यवसायिक डेलिभरी गर्ने मान्छे आउनुपर्छ भन्ने कुरामा नेपाली कांग्रेस स्पष्ट रहेको बताउनुहुन्छ ।
यस्तै, नेपाली कांग्रेसले प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले भन्ने बितिक्कै सरकार नढल्ने जनाएको छ । केही दिनअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नयाँ बर्षमा सरकार ढल्ने दाबीको खण्डन गर्दै कांग्रेसले बूढानीलकण्ठमा बसेको बैठकबाट यस्तो जवाफ दिएको हो ।
सरकार ढलिहालोस् भन्ने प्रमुख प्रतिपक्षी दलको स्वभाविक धर्म भएको बताउँदै कांग्रेस प्रवक्ता महतले प्रचण्डले भनेको कुरामा कुनै सत्यता नभएको दाबी गर्नुहुन्छ ।कांग्रेस र एमालेबीचको गठबन्धनमा समस्या भइरहेको भन्ने अवस्थामा सभापति शेरबहादुर देउवाले पदाधिकारी र मन्त्रीहरूको संयुक्त बैठक राखेर छलफल गर्नुृभएको हो ।
प्रचण्डले ओली सरकार ढाल्न कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाउन आफू तयार रहेको समेत केहिदिन पहिला बताउनुभएको थियो ।
यस्तै , आज फेरि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रचण्डले केपी ओली नेतृत्वको सरकार नयाँ वर्ष कट्दैन भनेर आफूले राजनीतिक विश्लेषण र कांग्रेस एमाले नेताहरूसँगको संवादका आधारमा भनेको बताउनु भएको छ।
प्रमुख प्रतिपक्षी दलले सरकारबारे आलोचना गरिरहँदा नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको पर्फर्मेन्स शून्य अवस्थामा रहेको स्वीकार गर्नुहुन्छ ।
प्रधानमन्त्री ओलीले सरकारको गियर परिवर्तन गर्नु त परको कुरा गाडी स्टार्ट नै गर्न नसकेको उहाँको तर्क छ । सरकारले काम गर्न नसकेकै कारण अहिले सबै जनता सडकमा आउने परिस्थिति बनिरहेको खतिवडाको दाबी छ ।
नेता खतिवडाले ९ महिनाको अवधिमा प्रधानमन्त्रीलगायत कुनै पनि मन्त्रीले काम गर्न नसकेको दाबी गर्नुहुन्छ । महँगी बढ्दा उद्योगमन्त्री चुपचाप बसेको, पर्यटन व्यवसाय पनि चौपट भइरहेको अवस्थामा प्रधानमन्त्री र अन्य मन्त्रीहरु भने आनन्दले मीठो बोलेर हिँडेको उहाँले बताउनुभयो ।
यद्यपी अहिले सत्तागठवन्धनमा खटपट आउने र सरकार गिरिहाल्ने अवस्था भने नरहेको खतिवडाको दावी छ । सरकारले काम गर्न नसकेकै कारण अहिले सबै जनता सडकमा आउने परिस्थिति बनिरहेको टिप्पणी जताततै भईरहेको छ । जनतामा सर्वत्र निराशा छ । ९ महिना भईसक्दा पनि कमसेकम सरकार छ भन्ने अनुभूति दिन सरकारले सक्नुपथ्र्यो । सरकारछ भन्ने अनुभूति नहँुदा अहिले जनता आक्रोशीत छन् । त्यसैले ठुला पार्टीहरुको बलियो भनिएको सरकारले बोलेरमात्रै परिवर्तन हुँदैन । जनतालाई राहत हुनेगरि काम चाहि गर्नैपर्छ ।