काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संक्रमणकालीन न्यायलाई अन्तिम टुङ्गोमा पु¥याउँदा द्वन्द्वकालमा भएका अमानवीय र जघन्य अपराधलाई माफी दिन नसकिने बताउनुभएको छ ।
नेपाल भूतपूर्व सैनिक तथा प्रहरी संगठनको छैटौँ राष्ट्रिय महाधिवेशनको आज उद्घाटन गर्दै नेकपा (एमाले) का अध्यक्षसमेत रहेका ओलीले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको खोजबिन आयोगबाट पीडितलाई न्याय दिइने बताउनुभयो ।
उहाँले ती आयोग गठन प्रक्रियामा अब ढिलाइ नहुने बताउँदै अधिनायकवाद परास्त भइ लोकतान्त्रिक प्रणालीमा मुलुक गइसकेकाले अब बहकावमा लागेर कुनै खालका हत्या, हिंसा, धार्मिक भड्काव र अराजकता स्वीकार्य नहुने बताउनुभयो ।
चुनाव जितेर एमालेले एकल सरकार बनाई विकास र समृद्धिको अभूतपूर्व काम थालेका बेला त्रसित भएर प्रतिक्रियावादीको उक्साहटमा विस्थापित गरिएको बताउँदै ओलीले सिमाना खुम्चन र राष्ट्रिय स्वाभिमानमा आँच आउन नदिने प्रतिवद्धता जनाउनुभयो ।
विविधतायुक्त मुलकमा सामाजिक सद्भावसहितको राष्ट्रिय एकता आवश्यक भएको र एमालेले त्यसको अगुवाइ गरिरहेकाले भूतपूर्व सैनिक तथा प्रहरी संगठनले देश र पार्टीप्रतिको बफादारितालाई अझ बलियो बनाउनुपर्ने उहाँको भनाई छ । साथै प्रधानमन्त्री ओलीले यही वैशाख ११ गते लोकतन्त्र दिवसका दिन एमालेले युवाहरूको सम्मेलन गरी जनताको अधिकार र विकासका पक्षमा उत्सव मनाउन आव्हान गर्नुभएको छ ।