काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारको गम्भीर समीक्षा गर्नुपर्ने ठाउँमा आइपुगेको बताउनुभएको छ । आज बारा ३ को प्रथम क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै उहाँले जुन उद्देश्यले सरकार गठन भएको थियो त्यो अनुसार काम गर्न नसकेको बताउनुभयो ।
कांग्रेस र एमाले दुई ठूला प्रतिस्पर्धी पार्टीहरुबीचको सरकार संविधान संशोधन र सुशासनको एजेण्डामा बनेको बताउँदै थापाले सरकार बनेपछिको अहिलेसम्म अपेक्षाअनुसार काम हुन नसकेकाले गम्भीर समीक्षा गर्नुपर्ने अवस्थामा आइपुगेको बताउनुभयो ।
सरकारले गर्नुपर्ने निर्णय नगरेर नगर्नुपर्ने निर्णय गरिरहेको भन्दै महामन्त्री थापाले कांग्रेस आफ्नो कुरामा इमान्दार रहेको अहिलेसम्म सरकार परिवर्तन कांग्रेसको कारणले गर्दा नभएको दाबी समेत गर्नुभयो ।
यस्तै अर्का महामन्त्री विश्वप्रकाश शर्माले सरकारको गतिप्रति असन्तुष्टि व्यक्त गर्दै कार्यशैली परिवर्तन गर्नुपर्ने बताएका छन् । सामाजिक सञ्जाल उहाँले सरकारको कार्यशैली प्रति असन्तुष्टि व्यक्त गर्दै कार्यशैली परिवर्तन गर्नुपर्ने बताउनुभएको हो ।
नगर्नुपर्ने निर्णयमा हतारो, गर्नुपर्ने निर्णयमा बिलम्ब, सरकारको यो प्रवृत्ति समर्थन योग्य नरहेको बतछाउँदै उहाँले मुख्य दुई दल सम्मिलित सरकारको गति सन्तोषजनक नभएको बताउनुभयो ।
सामाजिक सञ्जाल विधेयक, कुलमान प्रकरण, शिक्षक आन्दोलन, अख्तियारसम्बन्धि विधेयक, त्रिभुवन विश्वविद्यालयको उपकुलपति प्रकरण, नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति प्रकरण र नेपाल प्रहरीको एआईजी नियुक्तिको विषयमा पनि सरकारका कारण गलत सन्देश नागरिकमा समप्रेसण भएको बताउनुभयो ।