काठमाडौं । आन्दोलनरत शिक्षक अगुवाहरूसँग नेपाली कांग्रेसका दुई महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले पार्टीको केन्द्रीय कार्यालय सानेपामा छलफल गर्नुभएको छ ।
शिक्षकहरूका विविध माग र उनीहरूको आन्दोलनका विषयमा केन्द्रित छलफलमा महामन्त्रीद्वयले समस्या समाधानका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। विशेषगरी, शिक्षण पेशासँग जोडिएका संरचनागत सुधार, पेशागत सुरक्षाका सवाल, तथा उनीहरूको सरोकारका अन्य मुद्दाहरूबारे गम्भीर रूपमा सम्वाद गरिएको थियो।
सोमबार बेलुका भएको छलफलमा शिक्षक प्रतिनिधिहरूले सरकारसँग भएका विगतका सहमति कार्यान्वयन नभएको, तथा आफूहरूले उठाएका जायज मागहरूलाई सम्बोधन गर्न राजनीतिक तहबाट गम्भीर पहल हुनुपर्ने आवश्यकता औंल्याएका थिए।
छलफलमा महामन्त्री थापा र शर्मा दुबैजनाले शिक्षा क्षेत्र राष्ट्रको मेरुदण्ड भएको भन्दै शिक्षकहरूको आवाजप्रति पार्टी गम्भीर रहेको धारणा राखे। उनीहरूले शिक्षकहरूको माग सम्बोधनका लागि संसददेखि सरकारसम्म आवश्यक दबाब सिर्जना गर्ने तथा राजनीतिक संवादमार्फत समाधानको बाटो खोज्ने आश्वासन दिएका छन्।
पार्टी केन्द्रीय कार्यालयमा सम्पन्न छलफललाई शिक्षक अगुवाहरूले सकारात्मक रूपमा लिएको जनाएका छन्। उनीहरूले अब आफ्ना मुद्दाहरू पार्टीको उच्च तहमा गम्भीरताका साथ प्रस्तुत भएकोमा आशा व्यक्त गर्दै निकट भविष्यमा सार्थक परिणाम आउने विश्वास व्यक्त गरे।
छलफलले आन्दोलनरत पक्ष र राजनीतिक नेतृत्वबीच संवादको पुल निर्माण गर्दै समाधानको दिशातर्फको एक कदम अगाडि बढाएको संकेत गरेको छ।