काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्षको अवसरमा दिएको भिडिओ सन्देशबारे पुनः टिकाटिप्पणी सुरु भएको छ । प्रजातन्त्र दिवसका अवसरमा शुभकामना दिनुभएका ज्ञानेन्द्र शाहले हिजो फेरी नयाँ बर्षमा पनि बोलेपछि टिकाटिप्पणी सुरु भएको हो । नेकपा (एमाले)ले राजतन्त्र पुनस्र्थापना गर्ने ’व्यर्थको प्रयत्न’मा नलाग्न पूर्वराजा ज्ञानेन्द्र शाहलाई आग्रह गरेको छ ।
आज च्यासलमा बसेको पार्टी सचिवालय बैठकपछि एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जनताले अस्वीकार गरिसक्दा पनि पूर्वराजा शाहले नबुझेको बताउनुभयो । पूर्वराजा शाहको मनमा अझै पनि मुलुकको अहिलेको गणतान्त्रिक प्रणालीलाई बदल्न सकिन्छ कि भन्ने आशा देखिन्छ त्यो व्यर्थको कुरा हो । त्यो ढंगका कुनै पनि प्रयासमा उहाँ नलागे हुन्छ, ज्ञवालीले भन्नुभयो ।
उपमहासचिव ज्ञवालीले पूर्वराजा शाहले ’जनताको असन्तुष्टि नसुन्ने कुनै पनि तन्त्र नहुने’ भनेर दिएको अभिव्यक्तिप्रति पनि आपत्ति जनाउनुभएको छ । चैत १५ गतेको तीनकुने घटनापछि पनि पूर्वराजा शाहमा कुनै पश्चाताप नरहेको टिप्पणी पनि भईरहेको छ । नेपाली कांग्रेसका प्रचार प्रसार विभाग प्रमुख मीन विश्वकर्माले नेपालमा पूर्वराजा ज्ञानेन्द्र शाहको शासन कल्पना गर्न नसकिने बताउनुहुन्छ ।
राजनीतिलाई शुद्धीकरण गर्दै जानुपर्ने अवस्था भएपनि पूर्वराजा ज्ञानेन्द्रको शासन भने कल्पना गर्न नसकिने भनाई विश्वकर्माको छ । अब नेपालमा जे मन लाग्यो त्यही गर्न पाउने पूर्वराजा ज्ञानेन्द्रले सोचेको स्वतन्त्रता नहुने गणतन्त्रवादी दलहरुले बताउदै आएका छन् । नागरिकको स्वतन्त्रतालाई शान्तिपूर्ण मतदान र अभिमतद्वारा प्रयोग गरिनुपर्ने विचार उनिहरुको छ । बहुदलीय संसदीय व्यवस्था नै विश्वको उत्कृष्ट व्यवस्था रहेको दाबी पनि उनिहरुको छ । नेता विश्वकर्माले पूर्वराजासँग आफ्ना केही पिता पुर्खाको नाम लिनुभन्दा बाहेक अर्को योग्यता नरहेको बताउनुहुन्छ ।
यता, नेकपा (माओवादी केन्द्र) का नेता एवं वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले पूर्वराजा ज्ञानेन्द्र शाहले बढ्ता बोल्न थालेको टिप्पणी गर्नुहुन्छ । उहाँ भ्रष्टाचारको बिगबिगी रहेको र यसलाई नियन्त्रण गर्नुपर्छ भन्नेमा सबैको ध्यान जान जरुरी रहेको बताउनुहुन्छ । बिडारी राजतन्त्रलाई निकृष्ट, निर्दलीय, निरङ्कुश, अपराधीहरुको व्यवस्थाको संज्ञा दिनुहुन्छ ।
अहिले उनी र म बराबर हो । उनलाई पैसा बढ्ता छ । किनभने शोषण, दमन गरेर कमाएको पैसा उनीसँग बढी छ । उद्योग छ, उनी धनाड्य छन् । तर, अधिकार र व्यक्तिगत स्वतन्त्रताको कुरामा अरु जनता सरह नै छन्,’– बिडारीको तर्क छ ।
राजसंस्था पुनस्र्थापनाका लागि भन्दै ’संयुक्त जनआन्दोलन समिति’ ले तोकेका ’जनकमान्डर’ दुर्गा प्रसाईंको आह्वानमा चैत १५ गते तीनकुने क्षेत्रमा प्रदर्शन भएको थियो । प्रदर्शन हिंसात्मक हुँदा दुई जनाको मृत्यु भएको थियो भने केही घाइते भएका थिए । उक्त हिंसात्मक घटनाका दोषीमाथि कार्बाही गर्ने प्रक्रिया अन्तर्गत राजावादी प्रदर्शनमा सामेल भएका र त्यसको नेतृत्व गरेकाहरू पक्राउ पर्ने क्रम अहिले पनि चलिरहेको छ ।
यता,आन्दोलनमा साथ दिएको राष्ट्रिय प्रजातन्त्र पार्टीसहितका केही विपक्षी दलले घटनाको न्यायिक छानबिनका लागि सरकारलाई दबाव दिइरहे पनि छानबिन समिति भने गठन भएको छैन ।