काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आन्दोलनरत शिक्षकको जायज माग पूरा गर्न सरकारको ध्यान जानुपर्ने बताउनुभएको छ।
नेपाल मुस्लिम संघले आज कांग्रेस पार्टी कार्यालय सानेपामा गरेको शुभकामना आदान प्रदान कार्यक्रममा सभापति देउवाले वार्ता र सम्वादबाट आन्दोलनरत शिक्षकको जायज माग पूरा गर्न सरकारको ध्यान जानुपर्ने बताउनुभयो । उहाँले शिक्षकहरूको माग सम्बोधन गर्न कुनै समस्या देखिए छलफलबाटै निकास निकाल्नुपर्ने भन्दै यसका लागि शिक्षकहरू पनि तयार हुनुपर्ने जिकिर गर्नुभयो ।
त्यस्तै सभापति देउवाले कुनै पनि पार्टीको बहुमत आउन गाह्रो भएपनि सबैलाई मिलाउन सक्ने संविधान मुलुकमा रहेको धारणा राख्नुभएको छ। अहिलेको संविधानले समावेशी समानुपातिक प्रतिनिधित्व गराउन निकै ठूलो भूमिका खेलेको उहाँले बताउनुभयो ।
कांग्रेसको विधान पनि समावेशी समानुपातिक प्रकारको रहेकाले पार्टीमा सवैको प्रतिनिधित्व रहेको बताउँदै देउवाले देश समावेशी र समानुपातिकताको आधारमा अघि बढिरहेको बताउनुभयो । कांग्रेसमा मुस्लिम समुदायबाट राम्रो प्रतिनिधित्व रहेको र कांग्रेसको विधान समावेशी समानुपातिक रहेकाले पार्टीमा मुश्लिम समुदायबाट पनि ठूला–ठूला नेताको प्रतिनिधित्व रहेको देउवाको भनाई छ ।