काठमाडौं । सरकारले राप्रपा महामन्त्री तथा प्रतिनिधि सभा सदस्य डा. धवल शमसेर जबरा र सहअध्यक्ष रवीन्द्र मिश्रलाई हाजिरी जमानीमा रिहा गर्नेबारे परामर्श गरेको छ । तीनकुने घटनाका मुख्य अभियुक्त दुर्गा प्रसाईँ पक्राउ परिसकेको सन्दर्भमा कांग्रेस र एमालेको शीर्ष नेतृत्व पनि राणा र मिश्रलाई रिहा गर्ने पक्षमा देखिएपछि गृह मन्त्रालयले सोही अनुसार छलफल थालेको हो ।
गृहमन्त्री रमेश लेखकले शनिबार साँझै प्रहरी प्रमुखसहित रानीपोखरी र परिसरकार उच्च प्रहरी अधिकारीहरुलाई छलफलका लागि बोलाउनु भएको थियो । तर, त्यतिबेलै कांग्रेस सभापति शेरबहादुर देउवाले गृहमन्त्रीलाई बोलाएका कारण स्थगित भएको एक उच्च अधिकारीले बताएका छन् ।
सभापति देउवा राप्रपाका नेताद्वयलाई प्रक्रिया मिलाएर रिहा गर्ने पक्षमा देखिएको बताउँदै प्रधानमन्त्री र गृहमन्त्रीसँग पनि कुरा गरिसकेकाले नै इन्कारी बयान गराएर हाजिरी जमानीमा रिहा गर्ने संकेत आएको छ ।
चैत १५ गते साँझ पक्राउ परेका राणा र मिश्रसँग प्रहरीले अहिलेसम्म बयान लिएको छैन । उनीहरूलाई म्याद थप गर्दै राखिएको छ । उच्च राजनीतिक नेतृत्वबाट कस्तो आदेश आउँछ सोही अनुसार बयान हुने भएकाले पनि प्रहरीले माथिको संकेत पर्खेको जनाइएको छ ।
यद्यपि, जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी विश्व अधिकारी अनुसन्धानको म्यादअगावै मुद्दा बुझाउने सुरसार नभएको बताउनुभएको छ ।