काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले भारतका लागि नेपाली राजदूत शंकर शर्मासँग लखनऊमा भएको भेटमा राजसंस्थाबारे आफ्नो ‘लाइन’ प्रष्ट्याएको बताउनुभएको छ ।
आज टोखामा आयोजित वीपी स्मृति सामुदायिक सहकारी अस्पतालको साधारण सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । दिल्लीका राजदूतले घटनाका बारेमा जानकारी गराउँदा योगीले आफुहरु राजाको पक्षमा नभएको बताएको उहाले बताउनुभयो ।
गणेशमान फाउन्डेसनले चैत २५ गते आयोजना गरेको कार्यक्रममा पूर्वप्रधनमन्त्री देउवाले मुख्यमन्त्री योगी नयाँ दिल्लीस्थित नेपाली दूतावासमा गएर आफ्नो ‘लाइन’ प्रष्ट पारेको अभिव्यक्ति दिनुभएको थियो ।
यस्तै सोही कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संविधान संशोधनमा ढिलाइ गर्न नहुने बताउनुभएको छ । संविधान संशोधनमा ढिलाइ गर्न नहुने बताउँदै कांग्रेस सत्तामा भए पनि सरकारमा नभएको टिप्पणी गर्नुभयो ।
नेता कोइरालाले सरकारले गलत नगरोस् भनेर आफूहरूले खबरदारी गरिरहेको बताउँदै उहाँले सरकारलाई खबरदारी नगरिए कांग्रेसलाई अप्ठ्यारो पर्न सक्ने उनको तर्क थियो । अहिले एमालेसँग सहकार्य गरेर अगाडि बढिरहेको बताउनुभयो ।