काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपाली कांग्रेस बाहेक अन्य राजनीतिक दलहरुको अर्थनीति नरहेको बताउनुभएको छ । आज काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेपालको अर्थतन्त्रको उदारीकरण नेपाली कांग्रेसले गरेको दाबी गर्नुभयो ।
नेपाली कांग्रेसबाहेक नेपालमा अरु राजनीतिक दलहरुले मेरो अर्थनीति यो हो भनेर भन्न नसकेको जिकिर गर्दै नेता पौडेलले कांग्रेसको अर्थनीतिमै अरु राजनीतिक दलहरु हिँडिरहेको बताउनुभयो । सामाजिक उत्तरदायित्व अन्तर्गत नेपालमा धेरै कामहरु भएको बताउँदै उहाँले अन्तर्राष्ट्रिय रुपमा अरुले गर्न नसकेको उपलब्धिहरु पनि नेपालले गरेको दाबी समेत गर्नुभएको छ ।
चालु खर्च घटाउन जरुरी रहेको र मितव्ययिता अपनाउन जरुरी रहेको उहाँले बताउनुभयो । २७५ को संसदको संख्या घटाएर २०१ मा झार्नुपर्ने र प्रदेशसभाको सांसद संख्या आधा घटाउनुपर्ने तथा पालिकाको संख्या घटाएर वडाको संख्या बढाउनुपर्ने उहाँको भनाई छ ।