काठमाडौं । राजावादीहरुले गत चैत १५ गते काठमाडौ तिनकुनेमा आयोजना गरेको आन्दोलनका क्रममा निधन भएका सविन महर्जनकी छोरीलाई निःशुल्क शिक्षाको व्यवस्था भएको छ ।
नेपाली कांग्रेसका कोषाध्यक्ष उमेश श्रेष्ठले महर्जनकी आठ वर्षीया छोरीलाई कीर्तिपुरको ल्याबोरटोरी स्कूलमा कक्षा १२ सम्म निःशुल्क अध्ययन गराउने व्यवस्था गरिदिनु भएको हो ।
लामो समयदेखि शिक्षा क्षेत्रमा योगदान गर्दै आउनु भएका श्रेष्ठलाई नेपाल महिला संघकी अध्यक्ष उषा राउत मिश्रले सविनको छोरीलाई निःशुल्क शिक्षाको व्यवस्था गर्न प्रस्ताव गर्नु भएको थियो । त्यसपछि श्रेष्ठले तत्कालै विद्यालय प्रशासनसँग कुरा गरेर सविनकी छोरीलाई निःशुल्क शिक्षाको व्यवस्था गर्नु भएको हो।
महिला संघकी अध्यक्ष मिश्रलाई पनि मानवअधिकार आयोगकी सदस्य लिला थापाले जानकारी गराएपछि प्रक्रिया अगाडि बढेको मिश्रले बताइन ।
उनले भनिन्, उमेश सरले सोही दिन सविन महर्जनकी श्रीमती भविसा महर्जनसँग फोनमा कुरा गरी छोरीलाई ल्याबोरेटरी स्कूलमा कक्षा १२ सम्म निःशुल्क पढाइने कुरा गर्नुभयो । हाम्रो सानो प्रयासले त्यो परिवारलाई केही राहत मिल्ने आशा गरेको छु ।” उनले पिडित परिवारलाई सहयोग गरिदिएकोमा कोषाध्यक्ष श्रेष्ठ र विद्यालय परिवारलाई सबैले धन्यवाद दिनुपर्ने बताईन ।