काठमाडौं । गृहमन्त्री रमेश लेखकले राजावादीको हिंसात्मक प्रर्दशनका क्रममा तोडफोड र आगजानी लगायतका घटनामा संलग्नहरुलाई पक्राउ गर्ने क्रम जारी रहेको बताउनुभएको छ ।
उक्त प्रर्दशनमा मुख्य आरोपी दुर्गा प्रसाइलाई पक्राउ गरिएको जानकारी दिदैं गृहमन्त्री लेखकले घटनाका अन्य आरोपीहरु पनि पक्राउ पर्ने क्रम जारी हरेको बताउनुभएको हो ।
आज प्रतिनिधि सभा अन्तरगतको कानून न्याय तथा मानवअधिकार समितिको बैठकमा बोल्दै उहाँले उक्त घटनामा अरोपित पक्राउ गर्ने क्रम र अनुसन्धानको क्रम जारी रहेको जानकारी दिनुभयो ।
तीनकुने क्षेत्रमा घाइते भएकाहरूको उपचार सरकारले गर्ने निर्णय मन्त्रिपरिषद्बाट भइसकेको बताउँदै उहाँले उपचार गराइराखेको अस्पतालभन्दा बाहिरबाट औषधि किन्नु परेमा पनि त्यसको खर्च सरकारले व्यहोर्ने बताउनुभयो ।
तीनकुनेमा हिंसात्मक प्रदर्शन संविधान च्यात्ने र व्यवस्था मास्ने प्रयासको रुपमा ब्याख्या गर्दै उहाँले वर्तमान संविधान र लोकतान्त्रिक व्यवस्थामा आफ्ना असन्तुष्टि राख्न सकिने भएपनि लोकतन्त्रको विकल्प पछाडि फर्किने व्यवस्था हुन नसक्नेमा जोड दिनुभयो । तीनकुने घटनालाई सरकारले गम्भीरतापूर्वक लिएको मन्त्री लेखकको भनाई छ ।