काठमाडौं । नेपाल बार एशोसिएशनको नयाँ नेतृत्वमा विजयप्रसाद मिश्रको प्यानलले बाजी मारेको छ। सत्तारूढ नेपाली कांग्रेस–नेकपा एमाले प्यानलबाट अध्यक्षका उम्मेदवार रहेका विजयप्रसाद मिश्रको प्यानल नै निर्वाचित भएको हो ।
गत शनिवार सम्पन्न निर्वाचनको मतगणना बिहीबार सम्पन्न भए पछि वरिष्ठ अधिवक्ता मिश्रले प्रतिस्पर्धी उम्मेदवार भन्दा २ हजार ४३१ मत बढीसहित ५ हजार ५२ मतसहित विजयी हुनुभएको छ । निकटतम प्रतिस्पर्धी विपक्षी गठबन्धनबाट भिडेका नेकपा माओवादी केन्द्र समर्थित वरिष्ठ अधिवक्ता श्रेष्ठ २ हजार ६२१ मतमा सीमित रहनुभयो ।
त्यस्तै महासचिवमा कांग्रेस–एमाले प्यानलका केदारप्रसाद कोइराला ४ हजार ८७४ मत ल्याएर विजयी हुँदा यज्ञमणि न्यौपानेले २ हजार ३६७ मतमा सीमित हुनुभएको छ ।
यस्तै नेपाल बार एशोसियशनको नव अध्यक्ष विजय मिश्रले संविधान संशोधनमा रचनात्मक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ । प्रतिस्पर्धी रमण श्रेष्ठलाई अत्यधिक मतले पराजित गरेर विजयी हुनुभएका मिश्रले स्वतन्त्र न्यायपालिकाको वास्तविक रूपमा स्थापित गर्न र स्वच्छ न्यायपालिकाको स्थापनाका लागि पहल गर्ने बताउनुभयो ।
‘लयर्स एकेडेमी’ को स्थापना गरेर कानुन व्यवसायीहरूको अध्ययन प्रशिक्षण तथा तालिमका लागि पर्याप्त अवसरको व्यवस्था मिलाउने उहाँले प्रतिबद्धता जनाउनुभएको छ ।