काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने कारागार चलान भएका छन् । प्रहरीले लामिछानेलाई आज बिहानरुपन्देही जिल्ला अदालतमा पेस गरेको थियो । त्यसपछी आवश्यक कानुनी प्रक्रिया पुरा गरेर जिल्ला कारागार चलान गरिएको हो ।
शुक्रबार राति काठमाडौंमा पक्राउ परेका एवं गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशकसमेत रहेका लामिछानेलाई शनिबार बिहान भैरहवा पुराइएको थियो। शनिबार र आइतबार दुईदिन सार्वजनिक बिदा भएपछि उनलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीको हिरासतमा राखिएको थियो।
बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधसम्बन्धी मुद्दामा उच्च अदालत तुलसीपुर बुटवल इजलासले शुक्रबार थुनामा राख्न आदेश दिएपछि प्रहरीले लामिछानेलाई सोही दिन राति काठमाडौंको बुढानिलकण्ठस्थीत निवासबाट पक्राउ गरेको थियो ।