काठमाडौं । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले शिक्षकहरूको मागलाई उपेक्षा गरेर सरकारले निरङ्कुश चरित्र देखाएको आरोप लगाउनुभएको छ । केही दिनदेखि संघीय राजधानी काठमाडौँमा शिक्षकहरूले गरिरहेको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै गुरुङले संसद्बाट विधेयक पारित गरी ऐन बनाउनुपर्नेमा चालु अधिवेशन बन्द गरी सरकारले निरङ्कुश चरित्र देखाएको आरोप लगाउनु भएको हो ।
आज सामाजिक सञ्जाल फेसबुकमा लेख्दै गुरुङले शिक्षकहरूले विधेयक शीघ्र पास नभएमा सडक आन्दोलन उत्रने भनी सरकारलाई अग्रिम जानकारी गराएको भएपनि सरकारले शिक्षकहरुको मागलाई वेवास्ता गर्दै चैत्र १९ गते मध्यरातबाट हिउँदे विधेयक अधिवेशन समापन गरेको बताउनुभयो ।
विधेयक र सदनको स्थितिबारे शिक्षकहरूसँग वार्ता–संवाद केही नगरी सदनको समापन गर्नु सरकारको शिक्षकहरू प्रतिको उपेक्षा, अवहेलना र सरकारको निरङ्कुश चरित्रको पराकाष्ठा भएको उहाँको भनाई छ ।
आन्दोलनरत शिक्षकहरूसँग अविलम्ब वार्ता गरी सदनमा विचाराधीन विधेयकबारे कहिलेसम्म सदन बोलाएर पारित गर्ने भन्नेबारे एउटा प्रतिबद्धता जाहेर गर्न उहाँले सरकारको ध्यानाकर्षण गराउनु भएको छ ।