Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

थाइल्याण्ड भ्रमण सकेर प्रधानमन्त्री ओली स्वदेश फिर्ता, चासोमा भारत भ्रमण, औपचारिकतामै सिमित बनेको टिप्पणी (खासखबर)

थाइल्याण्ड भ्रमण सकेर प्रधानमन्त्री ओली स्वदेश फिर्ता, चासोमा भारत भ्रमण, औपचारिकतामै सिमित बनेको टिप्पणी (खासखबर)

  • शनिवार, चैत्र २३ २०८१

  • 839
    SHARES

  • थाइल्याण्ड भ्रमण सकेर प्रधानमन्त्री ओली स्वदेश फिर्ता, चासोमा भारत भ्रमण, औपचारिकतामै सिमित बनेको टिप्पणी (खासखबर)
    काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली थाइल्याण्डको औपचारिक भ्रमण सकेर आज स्वदेश फर्किनुभएको छ। गत चैत १९ गते २१ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै थाइल्याण्ड प्रस्थान गर्नुभएका प्रधानमन्त्री ओली आज स्वदेश फर्किनु भएको हो। 
     
    थाइल्याण्डका प्रधानमन्त्री पेथोङ्थान् शिनावात्को मैत्रीपूर्ण निमन्त्रणामा छैटौँ बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास(बिम्स्टेक)शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली थाइल्याण्ड जानुभएको थियो। 
     
    सन् १९५९ नोभेम्बर ३०मा कूटनीतिक सम्बन्ध स्थापना भएपछि नेपाली राष्ट्रप्रमुखका तर्फबाट थाइल्याण्डमा भएको इतिहासकै पहिलो भ्रमणमा प्रधानमन्त्री ओलीले बिम्स्टेक सम्मेलनमा सम्बोधनसँगै छिमेकी देश भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलगायत विभिन्न मुलुकका समकक्षीसँग आपसीहित र चासोका विविधि विषयमा छुट्टाछुट्टै भेटवार्ता गर्नुभयो। 
     
    पछिल्लोपटक ओली प्रधानमन्त्री बनेको ९ महिना बितिसक्दा पनि छिमेकी देश भारतबाट भ्रमण निमन्त्रण नहुँदा सम्बन्ध चिसिएको चर्चा चलिरहेको सन्दर्भमा समकक्षी मोदीसँगको यो भेटले प्रधानमन्त्रीलाई थोरै राहत दिएको देखिन्छ । भने अब छिट्टै मोदीबाट भारत भ्रमणको निम्तो आउने झिनो आशा थपिएको पाइन्छ।
     
    भ्रमणकै दौरान नेपाल र थाइल्याण्डबिच संयुक्त वाणिज्य परिषद् (जेबीसी) गठन गर्ने सहमती पनि भएको छ, भने आर्थिक विकास,कनेक्टिभिटी, पर्यटन, ऊर्जा, शिक्षा,सांस्कृतिक आदानप्रदान, तथा गैरसरकारी र व्यावसायिक संस्थाबीच सहकार्यका विभिन्न ८वटा सहमति र सम्झौता समेत भएकोले भ्रमण अत्यन्तै सफल र उपलब्धीमुलक बनेको सरकारले पनि दाबी गरेको छ। 
     
    प्रधानमन्त्री ओली स्वदेश फर्किएपछी विमानस्थलमा पत्रकार सम्मेलन गर्दै थाइल्याण्डको औपचारिक भ्रमण र बिम्स्टेक शिखर सम्मेलनमा सहभागीता सफल रहेको र भ्रमणले दुईदेशबिचको सम्बन्ध थप उचाईमा पुगेको दाबी गरिएको थियो। 
     
    पत्रकार सम्मेलनमा स्वयं प्रधानमन्त्री ओलीले पनि यस भ्रमणले थाइल्याण्डसँगै नेपाल र भारतबिचको सम्बन्ध पनि थप उचाईमा पुगेको बताउनुभयो। समकक्षी मोदीसँगको भेटमा दुई देशबिच सम्बन्ध थप सुदृढ बनाउने समझदारी गरिएको र भारत भ्रमण पनि अरु कारणले नभै आफ्नै व्यस्तताले नभ्याइएकोले अब सम्भव भएसम्म सगरमाथा संवाद अगावै जाने बताउनुभयो। 
     
    तर, उता प्रधानमन्त्रीको भ्रमणबाट देशको हितमा केही महत्वपूर्ण निर्णय हुने अपेक्षा गरिएकोमा त्यसो हुन नसकेको र प्रधानमन्त्रीले नै भ्रमणको फेहरिस्त दिन नसकेको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र भने आलोचनामा देखिन्छ । 
     
    माओवादी केन्द्रका नेता रामदिप आचार्यले प्रधानमन्त्रीले भ्रमणमा यस विषयमा छलफल र परामर्श भयो, यो निर्णय भयो, अब यसरी अगाडी बढ्दैछौं भनेर नबताउँदा सरकारमाथी थप आशंका गर्ने ठाउँ निस्किएको आरोप लगाउनुभयो। 
     
    यता जानकारहरु पनि प्रधानमन्त्रीको यो भ्रमण पनि औपचारिकतामै सिमित बनेको टिप्पणी गर्छन्।इतिहास्विद् तथा कुटनितिज्ञ एवं राजनैतिक विश्लेषक गोविन्दमानसिंह कार्कीले प्रधानमन्त्रीको यो भ्रमणबाट अन्य ठुलो उपलब्धी केही नभएको र औपचारिकतामै सिमित बनेको बताउनुहुन्छ। उहाँले भारत भ्रमणका लागी भने केही बाटो खुल्छ की भन्ने आशा रहेको बताउनुभयो । 
     
    नेपालबाट हुने हरेक उच्चस्तरीय भ्रमण महत्वाकांक्षी बढी तर प्रतिफल कम हुँदा सधैं आलोचना हुने गरेको छ। सोहीअनुसार यसपटकको भ्रमण पनि आलोचनामा पर्नु स्वभाविक हो । खासगरी प्रधानमन्त्रीको यो भ्रमण थाइल्याण्डसँगको ६५ वर्षे कूटनीतिक इतिहासमै नेपाली राष्ट्रप्रमुखको पहिलो औपचारिक भ्रमण भएकोले सुरुवातबाटै विषेश चासोमा परेको थियो। 
     
    यस भ्रमणमा दुईदेशबिच र सम्मेलनमा सहभागी अन्य विभिन्न देशहरुसँगको सम्बन्ध सुदृढसँगै मुलुकको हितमा हुने विभिन्न सहमती र सम्झौता भएका छन्। मुलःत बिम्स्टेक सम्मेलनमा अन्य विषयसँगै जलवायु परिवर्तनले नेपालमा पारेको असरको विषय पनि प्राथमिकतामा परोस् भन्ने अपेक्षा थियो। त्यस विषयले कत्तिको प्रवेश पायो र अन्तराष्ट्रिय जगतको ध्यानाकर्षण गर्न सक्यो त्यो भने नतिजामा भर पर्नेछ। 

     


    शनिवार, चैत्र २३ २०८१०८:१३:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij