Aug 26 2026 | २०८३, भाद्र १० गते

२०८३, भाद्र १० गते
  • यो साता चर्चामा :
images

शिक्षकहरूद्वारा सडकमा सुतेर प्रदर्शन - माग पूरा गर्ने प्रधानमन्त्रीको आश्वासन

शिक्षकहरूद्वारा सडकमा सुतेर प्रदर्शन - माग पूरा गर्ने प्रधानमन्त्रीको आश्वासन

  • शनिवार, चैत्र २३ २०८१

  • 559
    SHARES

  • शिक्षकहरूद्वारा सडकमा सुतेर प्रदर्शन - माग पूरा गर्ने प्रधानमन्त्रीको आश्वासन

    काठमाडौं । काठमाडौं केन्द्रित आन्दोलन सुरु गरेका शिक्षकहरुले आज नयाँ बबरमहल–बानेश्वरको सडकमा सुतेर प्रदर्शन गरेका छन् । केही दिनदेखि बबरमहल–नयाँ बानेश्वर सडकमा नारा–जुलुससहित प्रदर्शन गरिएका शिक्षकहरूले आज आधा घण्टा सुतेर प्रदर्शन गरेका हुन् ।

    नेपाल शिक्षक महासंघको नेतृत्वको आन्दोलनका लागि देशभरका शिक्षकहरू काठमाडौं केन्द्रित भएका छन् । शिक्षकहरू शिक्षा ऐनको माग गर्दै आन्दोलनमा उत्रिएका हुन् । यसबेला संसदको अधिवेशन पनि अन्त्य भएकोले शिक्षकहरूले अध्यादेशबाट भए पनि ऐन बनाउन माग गरेका छन् ।

    अध्यादेश सम्भव नभए छिट्टै बर्खे अधिवेशन बोलाएर ऐन बनाउनुपर्ने या त विशेष अधिवेशन बोलाएर पनि आफूहरूको माग पूरा गर्नुपर्ने अडान शिक्षकहरूको छ । आन्दोलनमा उत्रिएका शिक्षकहरुले सरकारले बोलाएको वार्ता पनि अस्वीकार गर्दै आएका छन् ।

    यता प्रधानमन्त्री केपी शर्मा सरकार शिक्षकहरुको माग सम्बोधन गर्न तयार रहेको बताउनुभएको छ । थाइल्यान्डको औपचारिक भ्रमणबाट फर्केपछि विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै सरकारमाथि विश्वास गरेर नै शिक्षकहरु प्रदर्शनमा आएको बताउनुभयो ।

    शिक्षकहरुले उठाएका जायज मागहरु सबै सम्बोधन गर्ने बताउँदै प्रधानमन्त्री ओलीले अहिले आवाज उठाएपछि सरकारले सुन्छ भन्ने विश्वासले शिक्षकहरु आन्दोलनमा आएको बताउँनुभयो । सरकारले शिक्षकहरुका माग सुन्ने र माग पुरा गरेर घर फर्काउने प्रधानमन्त्री ओलीको भनाई छ । उहाँले सरकारले कुनै नकारात्मक दृष्टिकोण नराख्ने भन्दै धेरै दुख नगर्न शिक्षकहरुलाई आग्रह गर्नुभएको छ ।

    यस्तै नेपाली कांग्रेसका नेता एनपी साउदले शिक्षकका जायज माग तत्काल सम्बोधन गर्न सरकारसँग आग्रह गर्नुभएको छ । काठमाडौंमा जारी शिक्षकहरूको आन्दोलनलाई समर्थन गर्दै उहाँ सरकारसँग शिक्षकहरूका जायज माग पूरा गर्न आग्रह गर्नुभएको हो ।

    शिक्षा देशको समृद्धिको आधार भएकाले शिक्षाको सुधार बिना मुलुकको प्रगति सम्भव नहुने बताउँदै उहाँले सन्तुष्ट शिक्षकबाट मात्र गुणस्तरीय शिक्षाको सुनिश्चितता सम्भव भएको बताउनुभयो । सामुदायिक शिक्षाको सुधार र शिक्षक–कर्मचारीका न्यायोचित मागबारे आफू सधैँ शिक्षकहरूसँग रहने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।


    शनिवार, चैत्र २३ २०८१०५:४३:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij