काठमाडौं । गृहमन्त्री रमेश लेखकले संविधान मास्ने र व्यवस्था उल्ट्याउने मनसायले राजावादीहरूले १५ चैतमा तीनकुनेमा हिंसात्मक प्रदर्शन गरेकै कारण जनधनको क्षति हुन पुगेको बताउनुभएको छ ।
राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा जवाफ दिँदै गृहमन्त्री लेखकले १५ चैतमा राजावादीहरूले गरेको प्रदर्शन हिंसात्मक, अमानवीय र उच्छुंखल रहेको बताउनुभयो । घरमाथि मान्छे छ, भन्ने थाहा पाउँदा पाउँदै आगो लगाउने काम गरेको बताउँदै उहाँले निजी र सरकारी सवारीसाधनहरू, उद्योग, व्यापारिक केन्द्रमाथि आक्रमण गरिएको बताउनुभयो । सुरक्षाकर्मीमाथि गाडी कुदाउनेसम्मको प्रयास भएको र यी सबै नियोजित रूपमा अराजकता फैलाउनका लागि गरिएको गृहमन्त्री लेखकको भनाई छ ।
तीनकुनेमा भएको कार्यक्रम त्यसै दिन समाजवादी मोर्चाले भृकुटीमण्डपमा गरेको भन्दा विपरीत अमर्यादित, हिंसात्मक, अमानवीय र उत्छृंखल ढंगको रहेको गृहमन्त्रीको भनाइ थियो । वर्तमान संविधान उल्टाउने, संघीय लोकतान्त्रिक गणतान्त्रिक शासन, समावेशी, समानुपातिक व्यवस्था उल्टाउने उद्देश्यबाट प्ररित भएको उहाँले बताउनुभयो ।
१५ चैतको हिंसात्मक प्रदर्शनमा ७ फागुनमा पूर्वराजा ज्ञानेन्द्र शाहले दिएको अभिव्यक्ति, २५ फागुनमा पोखराबाट काठमाडौं आउँदा उनलाई राजावादीहरूले गरेको स्वागत, त्यसपछि हौसिएकाहरूले लगातार दिएको अभिव्यक्तिले पृष्ठभूमिको काम गरेको उहाँले बताउनुभयो ।
यस्तै सविन महर्जन र सुरेश रजकको परिवारलाई दश–दश लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने निर्णय गरेर रकम निकाशाका लागि प्रक्रिया अगाडि बढाइएको गृहमन्त्री लेखकले जानकारी दिनुभयो । यस्तै, सबै घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था मिलाइएको गृहमन्त्रीले बताउनुभयो ।