काठमाडौं । शुक्रबार राजधानीको तीनकुने घटनापछि वर्तमान व्यवस्था विरोधी राजावादी समूहको प्रभावित बनेको छ । शुक्रबार राजधानीको तीनकुनेमा ‘राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ र दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ’ महाभियानसहितका राजावादी समूहले राजा फर्काउने दाबीसहित गरेको प्रदर्शन हिंसात्मक बनेको थियो ।
उक्त हिंसात्मक आन्दोलनको चौतर्फी आलोचना भएको छ, भने प्रदर्शनकारीलाई उत्तेजित बनाउने कार्यमा संलग्न रहेको आरोपमा राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवल शमशेर राणासहितका राजावादीहरू पक्राउ परेका छन् । यस्तै संयुक्त आन्दोलन समितिका संयोजक नवराज सुवेदी गुहेश्वरी हाइटस्थित निवासमै ‘नजरबन्द’ अवस्थामा छन् ।
यस्तै तीनकुनेमा आन्दोलनकारीलाई भड्काएर भागेका दुर्गा प्रसाईंलाई प्रहरीले खोजिरहेपनि उनी अझै पक्राउ पर्न सकेका छैनन् । हिंसात्मक घटनामा २ जनाको मृत्यु हुनुका साथै सुरक्षाकर्मी र प्रदर्शनकारी दुबैतर्फ दर्जनौँ घाइते भएका थिए ।
उता राप्रपा आफ्नै ढंगले अघि बढ्ने तयारी गरेको छ । राजावादीले गर्ने सबै आन्दोलनमा सघाउने नीति लिएको उक्त पार्टीले अब भने आफ्नै ढंगले कार्यक्रमलाई अघि बढाउने तयारी गरेको हो ।
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पूर्वघोषित चैत २६ गते काठमाडौँमा हुने बागमती प्रदेशस्तरीय प्रदर्शन र आमसभा तथा वैशाख ७ गते हुने राजधानी केन्द्रित आन्दोलन हुने बताउनुभयो । उहाँले उच्च मनोबल सहित तयारीमा जुट्न पार्टी पंक्ति र समान विचार भएका दल, समूह, अभियान, धार्मिक संघसंस्था र आम जनसमुदायलाई अपिल गर्नुभएको छ । तर, उहाँले तीनकुने घटना सरकारकै कारण भएको जिकीर गर्नुभयो ।
राप्रपाले तीनकुने घटनाको स्वतन्त्र र निष्पक्ष न्यायिक आयोग गठन गरी छानविन गर्न माग समेत गरेको छ।