काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नवजात शिशु र गर्भवतीको पोषण सुधारमा सामुदायिक स्वास्थ्य स्वयंसेविकाको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ । फ्रान्सको राजधानी पेरिसमा आयोजित ‘न्युट्रिसन फर ग्रोथ पेरिस २०२५’ मा उनले मातृ शिशु पोषण सुधारमा नागरिक तहसम्म नै सचेतना तथा सेवा प्रवाहमा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको हो ।
मन्त्री पौडेलले पछिल्ला दुई दशकमा नेपालले पाँच वर्षभन्दा मुनिका बालबालिकामा हुने पुड्कोपनामा ३२ प्रतिशत कमी ल्याएको बताउँदै सन् २००१ मा नेपालमा ५७ प्रतिशतमा समस्या देखिए पनि हाल यो २५ प्रतिशतमा घटेको सरकारी तथ्याङ्क रहेको बताउनुभयो ।
गर्भवतीलाई आइरन र फोलिक एसिड पूर्तिका लागि सरकारले दिने चक्कीका कारण यसको उपलब्धतामा ६५ प्रतिशत वृद्धि भएको बताउँदै हउाँले नेपालमा छ प्रतिशत गर्भवतीमा आइरन र फोलिक एसिडको पूरकता रहेकामा हाल यसमा वृद्धि भएर ७१ प्रतिशत पुगेको दावी गर्नुभयो ।
मन्त्री पौडेलले विद्यालयमा अध्ययनरत बालबालिकालाई पोषक आहारा तथा नगद सहायताका साथै गर्भवती र नवजात शिशुलाई भिटामिन ए पूर्ति, आइरन चक्कीजस्ता कार्यक्रममा नेपालले महत्वपूर्ण उपलब्धि हासिल गरेको समेत बताउनुभयो ।
सम्मेलनमा सहभागी हुनुपूर्व मन्त्री पौडेलले नेपालमा गर्भवती तथा नवजात शिशुको पोषणस्तरमा सुधारका लागि विभिन्न अन्तरराष्ट्रिय दातृ निकाय तथा परोपकारी संस्थासँग छलफल गरेका गर्नुभएको छ ।