Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

नेपाल पत्रकार महासंघद्वारा देशव्यापी आन्दोलनको घोषणा

नेपाल पत्रकार महासंघद्वारा देशव्यापी आन्दोलनको घोषणा

  • शनिवार, चैत्र १६ २०८१

  • 442
    SHARES

  • नेपाल पत्रकार महासंघद्वारा देशव्यापी आन्दोलनको घोषणा

    काठमाडौं । नेपाल पत्रकार महासंघले पत्रकार सुरेश रजकको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै देशव्यापी आन्दोलनको घोषणा गरेको छ । प्रदर्शनकारीले षड्यन्त्रपूर्वक आगलागीमा पारी कार्यस्थलमा खटिएका पत्रकार रजकको हत्या गरेको भन्दै महासंघले उक्त घटनाको सत्यतथ्य छानबिन गर्न, दोषीलाई कारबाही गर्न तथा पीडित परिवारलाई राहत उपलब्ध गराउन आन्दोलनको घोषणा गरेको हो ।

    महासंघको शनिबार बिहान बसेको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले सुनियोजित रूपमा भएको पत्रकार हत्या, आक्रमण र मिडियामाथिको आक्रमणको विरोधमा आइतबारदेखि थप तीन दिनका लागि आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

    महासंघले शुक्रबार भएको पत्रकार हत्या, आक्रमण र मिडियामाथिको आक्रमणका विषयमा अध्ययन गर्न उपाध्यक्ष उमिद बाग्चन्दको संयोजकत्वमा ७ सदस्यीय अध्ययन कार्यदल गठन गरेको छ । केन्द्रीय समितिका सचिवहरू रमेश खतिवडा, प्रकाश धौलाकोटी, सोनी शर्मा, अशोक तिवारी, वैकुण्ठ पराजुली र सविन प्रियासन कार्यदलमा सदस्य छन् । त्यस्तै, घटनाको विरोधमा महासंघले आइतबार देशभरका पत्रकारलाई कालोपट्टी बाँधेर काम गर्न आह्वा गरेको छ ।

    त्यस्तै, सोमबार महासंघ केन्द्रले संघीय सरकारका गृहमन्त्रीलाई, प्रदेश समितिहरूले प्रदेशका गृहमन्त्री र जिल्ला शाखाले प्रमुख जिल्ला अधिकारीमार्फत एकैसाथ सरकारलाई ज्ञापनपत्र बुझाउने निर्णय गरेको महासचिव रामप्रसाद दाहालले जानकारी दिए । त्यस्तै, मंगलबार घटनाका विषयमा सञ्चारगृहका सम्पादक र सरोकारवाला संघसंगठनका नेतासँग छलफल गर्ने कार्यक्रम तय गरेको छ ।

    महासंघले शनिबार आक्रमणमा परेका सञ्चारगृहमा गएर स्थलगत अवलोकन तथा निरीक्षण गर्ने, घटनाका पीडित, प्रत्यक्षदर्शी र पीडितका परिवारसँग छलफल गर्ने निर्णय गरेको छ । त्यस्तै, पत्रकार सुरेश रजक कार्यरत रहेको सञ्चार संस्थालाई समेत उनको परिवारलाई राहत तथा क्षतिपूर्ति, सेवासुविधा भुक्तानी लगायतका विषयमा ध्यानाकर्षण गराउने निर्णय गरेको छ।

    यसैबीच ‘तीनकुने हिंसा’ परी निधन भएका पत्रकार सुरेश रजकका परिवारले गृहमन्त्री रमेश लेखकसमक्ष तीनवटा माग अघि सारेका छन् । एभिन्युज टीभीको कार्यालय पुगेका गृहमन्त्री लेखकसमक्ष उनीहरुले पत्रकार रजकलाई सहिद घोषणा गर्नुपर्ने, उचित क्षतिपूर्ति दिनुपर्ने र छानबिन गरी दोषीलाई कारबाही गरिनुपर्ने माग गरेका छन् ।
    पत्रकार सुरेश रजकका भान्जा राजेश रजकले दिएको जानकारीअनुसार गृहमन्त्रीले तीन दिनभित्र सरकारले निर्णय गर्ने आश्वासन दिएका छन् ।


    शनिवार, चैत्र १६ २०८१०५:४४:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij