काठमाडौं । गृहमन्त्री रमेश लेखकले पूर्वराजाका समर्थकरुले शुक्रबार काठमाडौंको तीनकुने, कोटेश्वरलगायत क्षेत्रमा गरेको तोडफोड, आगजनी र लुटपाट गरेका क्षेत्रको निरीक्षण गर्नुभएको छ ।
गृहमन्त्री लेखकसहित गृहसचिव गोकर्णमणि दुवाडी र गृहमन्त्रालयका उच्चपदस्थ अधिकारी र प्रहरी अधिकृतहरूले आगजनी भएको तीनकुनेस्थित निजी घर, कान्तिपुर टेलिभिजनको कार्यालय, अन्नपूर्ण पोष्ट दैनिक, जडीबुटीस्थित जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) र नेकपा (माओवादी केन्द्र)को पार्टी कार्यालय र कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटको निरीक्षण गर्नुभएको हो ।
निरीक्षणका क्रममा गृहमन्त्री लेखकले सञ्चारगृहमाथिको आक्रमण निन्दनीय भएको र घटनामा संलग्न जोसुकै भए पनि कारवाहीको दायरामा ल्याउने बताउनुभयो । लोकतन्त्रको महत्वपूर्ण अङ्ग सञ्चारमाध्यमलाई ध्वस्त पार्ने कोसिस गरेकामा त्यसको निन्दा गर्दै दोषीमाथि कारबाही गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।