काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले कवाड व्यवसायीहरूले भोग्नुपरेका समस्या आपसी छलफल र समझदारी निर्माण गरेर हल गरिनुपर्नेमा जोड दिनुभएको छ ।
कवाड संकलन तथा व्यवसायसँग सम्बन्धित माग राखेर आन्दोलनरत कवाड व्यवसायी संघर्ष समितिका प्रतिनिधिहरूसँगको भेटमा अध्यक्ष प्रचण्डले समस्या समाधानका लागि सहमतिमा जानुपर्नेमा जोड दिनुभएको हो ।
कवाड व्यवसायीहरूका मागमा आपसी छलफल गरेर एउटा समझदारीमा पुगेर व्यवसाय गर्ने सहज वातावरण बनाउनु जरुरी रहेको बताउँदै अध्यक्ष प्रचण्डले संकलन गर्ने मजदुर तथा व्यवसायीलाई दुःख दिएर समस्या हल नहुने बताउनुभयो ।
भेटका क्रममा अध्यक्ष प्रचण्डले कवाड व्यवसायको उचित व्यवस्थापनका विषयमा महानगर नेतृत्वसँग समेत छलफल गरेर सकारात्मक वातावरण निर्माणका लागि पहल गर्ने बताउनुभएको छ ।
कवाड संकलक तथा व्यवसायका क्रममा काठमाडौं महानगरपालिकाले अवरोध सिर्जना गरेका कारण व्यवसायी पीडित र विस्थापित हुन पुगेको भन्दै कवाड व्यवसायी सङ्घर्ष समितिले अध्यक्ष प्रचण्डलाई पहल गरिदिन आग्रह गर्नुभएको छ ।