काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई पूर्वराजा ज्ञानेन्द्र शाहलाई पार्टी सभापति बनाउन सुझाव दिनुभएको छ । कांग्रेसको बागमती प्रदेश प्रशिक्षण विभागले गरेको कार्यक्रममा आइतबार सभापति देउवाले राप्रपालाई पूर्वराजा शाहलाई पार्टी सभापति बनाउन सुझाव दिनुभएको हो ।
उहाँले नेपालमा राजतन्त्र फर्किने सम्भावना नरहेको र ज्ञानेन्द्र संवैधानिक राजा बन्न लायक व्यक्ति नभएको बताउनुभएको छ । ‘नेपालमा राजतन्त्र फर्किने सम्भावना छैन । ज्ञानेन्द्र संवैधानिक राजा बन्न लायक व्यक्ति पनि होइनन्,’ देउवाले भन्नुभयो ‘बरु राप्रपाले ज्ञानेन्द्रलाई पार्टी सभापति बनाए हुन्छ ।’
उहाँले ज्ञानेन्द्रलाई राजनीति नै गर्ने भए पार्टी खोल्न सुझाव दिदैं पूर्वराजाले पार्टी खोले त्यसमा सहभागी हुनेहरूले धेरै दुःख पाउने बताउनुभयो । देउवाले राजतन्त्र फर्किने सम्भावना नै नरहेको बताउँदै गणतन्त्रका पक्षमा एकजुट भएर लाग्न नेता कार्यकर्तालाई निर्देशन दिए ।