काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीको १५औँ महाधिवेशन २०८२ मङ्सिर मसान्तभित्रै हुनुपर्ने बताउनुभएको छ ।
नेपाली कांग्रेस मोरङ–काठमाडौं सम्पर्क समितिले आज काठमाडौंमा आयोजना गरेको ‘देशको वर्तमान अवस्था, चुनौतीहरू र नेपाली कांग्रेसको भूमिका’ का विषयक अन्तरक्रिया कार्यक्रममा नेता डा कोइरालाले महाधिवेशन २०८२ मङ्सिर मसान्तभित्र नभए पार्टी कमजोर हुँदै जाने बताउनुभयो ।
‘महाधिवेशन २०८२ मङ्सिरभित्र नभए कांग्रेस कमजोर हुँदै जान्छ । त्यतातिर ध्यान दिनुपर्छ, यो एकदम संवेदनशील कुरा हो,’ नेता डा कोइरालाले भने । उनले राजनीतिक दल र नेतृत्वप्रति जनताको वितृष्णा बढेको उल्लेख गर्दै जनताको निराशालाई हटाउन जरुरी भएको धारणा राख्नुभयो ।
नेता डा कोइरालाले कांग्रेस जनताको पार्टी भएकाले कांग्रेसप्रति नागरिकको विश्वास कायमै रहेको बताउनुभयो ।
जनतासँग गरेका वाचा पूरा गर्न अग्रसर हुनुपर्ने बताउँदै उनले नेतृत्व नसुध्रिए अप्ठ्यारो परिस्थिति सिर्जना हुने जिकिर गर्दै कांग्रेसको ध्यान सत्ता र सरकार केन्द्रित भइरहेको उहाँको भनाई छ ।