Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

नेपालमा मौलाउँदै एकपछी अर्को अपराध,अर्बौको सुनपछी करोडौंको डलर तस्करी, सडकदेखी सदनसम्मै तरङ्ग, निष्पक्ष छानबिनमा भने शंकैशंका (खासखबर)

नेपालमा मौलाउँदै एकपछी अर्को अपराध,अर्बौको सुनपछी करोडौंको डलर तस्करी, सडकदेखी सदनसम्मै तरङ्ग, निष्पक्ष छानबिनमा भने शंकैशंका (खासखबर)

  • बुधवार, चैत्र ६ २०८१

  • 980
    SHARES

  • नेपालमा मौलाउँदै एकपछी अर्को अपराध,अर्बौको सुनपछी करोडौंको डलर तस्करी, सडकदेखी सदनसम्मै तरङ्ग, निष्पक्ष छानबिनमा भने शंकैशंका (खासखबर)

    काठमाडौं।हुनतः नेपालमा अवैध रुपमा हुने अवैध मालसामान ओसारपसार र तस्करीका घटना नयाँ भने होइनन्, तर,कुनैकुनै समयमा हुने तस्करी सोचेभन्दा भयानक र ठुलामात्रै हुँदैनन्, विश्वास गर्नै नसक्ने खालका डरलाग्दा प्रकृतिका हुने गरेका छन्।

    त्यसका ज्वलन्त उदारहणहरु हुन्, किलो मात्रै होइन, क्वीन्टलका क्वीन्टलसम्म हुने सुनतस्करीदेखी हालै भएको अवैध २५ करोड नगद बरामद।

    खासगरी नेपालमा छिमेकी दुई ठुला देश भारत र चिनसँगको खुला सिमानाका कारण सडकमार्गबाट धेरै तस्करी हुने गरेको छ, भने सुनजस्ता बहुमुल्य वस्तुहरुको सडकसँगै हवाईमार्गबाटै खुलेआम तस्करी हुने गरेको छ।

    मुलतः भारतसँगका २७ वटा र चिनसँगका १४ वटा सिमानाकामार्फत बढी तस्करी हुने गरेको पाइन्छ । यसरी हुने तस्करीमा विगतमा खाद्यान्न, लत्ताकपडा, लागुऔषध, औषधि,मेसिनरी पार्टस्जस्ता वस्तुहरु भएपनि पछिल्लोसमय ठुलो मात्रामा करोडौं करोड खुद नगद नै ओसारपसार हुन थालेको छ ।

    यसैक्रममा देशको संघीय राजधानी काठमाडौंबाटै २५ करोड बढी नगद रकम बरामद भएपछी अहिले सिंगो देश नै तरङ्गित छ।
    गत सोमबार राती प्रहरीले काठमाडौंको टोखा नगरपालिका–२ झोर महाकाल क्षेत्रबाट २५ करोड १९ लाख २४ हजार ९५० रुपैयाँ बराबर अमेरिकी डलर, युरोलगायतका मुद्रा राजश्व छली रसुवाको चिनियाँ नाकातर्फ लैजाँदै गरेको ना१ख १६५२ नम्बरको ट्रक नियन्त्रणमा लिएको थियो।

    ट्रकको ‘बोनट’मा फल्स बटम बनाई लुकाएर तस्करी गर्न लागेको अवस्थामा चालक सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–१ का ४३ वर्षीय कुसाङ लामा पक्राउ परेका छन्। तर यति ठुलो रकम त्यो पनि विदेशी मुद्रा रहेकोले ती चालक मात्रै यसको जवाफदेही हुन सक्दैनन्, विगतका ठुला प्रकरणमा हाइ प्रोफाईलको संलग्नता रहेजस्तै यसमा पनि सोही कुरामा दुईमत रहेन ।

    यस्ता काण्डले देशमा भ्रष्ट्राचार मौलाएको मात्रै छैन, अन्तराष्ट्रिय स्तरमा नेपाल पटकपटक ग्रे लिस्टमा समेत पर्ने गरेको छ । त्यसकारण पनि यो विषयले अहिले सामाजिक सञ्जालदेखी आम जनमानससँगै सदनमै पनि तरङ्ग मच्चाएको छ।

    आज संसदमै सत्ता र प्रतिपक्षी दुबै तर्फका सांसदहरुले विगतका सुनकाण्डजस्तै यसमा पनि पहुँचवालाकै संलग्नता रहेकोले घटनाबारे गम्भीर हुन र निष्पक्ष छानबिन गर्न माग गरेका छन्।

    प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले माथिल्लो तहको कनेक्सन बिना करोडौंसम्मको डलर तस्करी सम्भव नरहेकोले विगतमा जस्तै भरिया र ड्राइभरमात्रै पक्राउ पर्ने र तस्करले उन्मुक्ति पाउने जोखिम रहेको भन्दै विषेश प्रकारको समिति बनाएर निष्पक्ष छानबिन गर्न माग गर्नुभयो ।

    यस्तै अर्को विपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका सांसद रोशन कार्कीले नेपाल तस्करको ट्रान्जीट पोइन्ट बनेको, देशमा भ्रष्ट्राचार मौलाउँदै गएको र नेपाल पटकपटक ग्रेलिस्टमा परेको जस्ता घटनाको उदाहरण दिँदै सरकारको ध्यानाकर्षण गराउनुभयो ।

    यस्तै सांसद अमरेशकुमार सिंहले विगतमा पनि तस्करहरुले उन्मुक्ति पाउने गरेको भन्दै सरकारले अहिले पनि विगतकै नजिर दोहोराउनेमा शंका गर्नुभयो। उहाँले अहिले पनि चालकमात्रै समातिएको भन्दै यसको मुख्य नाइके अर्थात मालिक कोहो त्यसलाई पक्राउसँगै कारबाही गर्न चुनौति दिनुभयो।

    यस्तै सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेका सांसद रघुजि पन्तले नेपालमा किन पटकपटक यी घटना र सुन ओसारपसार तथा तस्करीजस्ता घटना भैरहेका छन्? भन्दै प्रश्न गर्नुभयो। उहाँले यस्तै घटनाले देश ग्रेलिस्टमा परेको भन्दै दिर्घकालिन समाधान खोज्न सरकारलाई आग्रह गर्नुभयो।

    यस्तै सरकारमा सहभागी एवं मुलुकको मुख्य ठुलो दल नेपाली कांग्रेसका सांसद तथा राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरी खतिवडाले पनि विगतमा ड्राइभर र भरियामात्रै पक्राउ पर्ने नाइकेले उन्मुत्तिः पाउने गर्दा जनमानसमा आशंका रहेको भन्दै यसपटक पनि जनताका आँखामा छारो हाल्ने काम नगरी निश्पक्ष छानविन गर्न र मुख्य नाइके जुनतहको भएपनि कारबाहीको दायरामा ल्याउन आग्रह गर्नुभयो।

    यो प्रकरण घटेकै दिन संयोगले नेपाल प्रहरीको नयाँ कमाण्डर प्रहरी महानिरिक्षकमा दिपक थापाले नेतृत्व सम्हाल्नु भएको छ। उहाँलाई नेतृत्व सम्हालेकै दिन विदेशी मुद्रा तस्करीजस्तो अपराध पनि साथमै आएको छ। विगतमा जस्तै प्रहरीलाई यसमा पनि प्रभावीत पार्ने गरी दबाब नआउला भन्न सकिँदैन।

    यसअर्थमा यो प्रकरणसँगै थापाको सफलता पनि जोडिएकोले के कस्तो अनुसन्धान र कारबाही प्रक्रिया अगाडी बढ्छ भन्ने चासो छ।यद्यपी नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी)थापाले सपथ लिने बेलामा हिजोमात्रै कुनैपनि प्रकारका अपराधका घटनाले छुट नपाउने प्रतिवद्धता भने व्यक्त गर्नुभएको छ।

    यी र यस्तै प्रकरण र अपराध देशमा मौलाउँदै जाँदा र राज्यले न्युनिकरण गर्न नसक्दा नेपाल अन्तराष्ट्रिय जगतमा पटकपटक ग्रे लिस्टमा परेको छ। त्यसकारण अहिले डलर तस्करी प्रकरणमा प्रहरी, अनुसन्धानकर्ता, राज्य तथा सम्बन्धीत सबै निकाय जिम्मेवार बन्न जरुरी छ।

    यदी विगतमा जस्तै ठुला प्रकरणमा चालक र भरिया कारबाहीमा पर्ने मुख्य नाइकेले उन्मुक्ति पाउने क्रम यतिबेला पनि दोहोरिएको खण्डमा राज्यप्रतिको विश्वसयितामा मात्रै होइन अन्तराष्ट्रिय जगतमै नेपालको छबीमाथी पुनः प्रश्न उठ्न सक्ने जोखिम छ।


    बुधवार, चैत्र ६ २०८१०८:२५:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij