काठमाडौं । निर्माण व्यवसायीहरूले ‘कार्टेलिङ’ गरी सिमेन्टको भाउ अस्वाभाविक बढाउँदा पनि सरकार मूकदर्शक भएर बसेको आरोप लगाएका छन् ।
सिमेन्ट उद्योगीप्रति आक्रोश पोख्दै नेपाल निर्माण व्यवसायी महासंघ अध्यक्ष रवि सिंहले सिमेन्टमा गरिएको अस्वाभाविक मूल्यवृद्धि तुरुन्त खारेज गराउन सरकारको ध्यानाकर्षण गराएका हुन् ।
प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको मंगलबार जारी बैठककमा निर्माण व्यवसायी महासंघ अध्यक्ष सिंहले अभाव सिर्जना गरेर सिमेन्ट, छड लगायत सामग्रीको भाउ बढाइँदा पनि सरकार मूकदर्शन भएर बसेको आरोप लगाउनुभयो ।
सिमेन्ट, छड उद्योगीहरूले अस्वाभाविक मूल्यवृद्धि गरेको भएपनि सरकार मौन बसेको भन्दै उहाँले सरकारले अविलम्ब कडा कदम चालेर मूल्यवृद्धि खारेज गर्नुपर्ने माग राख्नुभयो । उत्पादन कटौती गरेर मूल्य बढाइएको र अनावश्यक अभाव सिर्जना गरिएको सिंहले बताउनुभयो । केही समयअघि स्टिल उद्योगले छडको भाउ एकैचोटि बढाएर प्रतिकिलो ७६ बाट ९० रुपैयाँ पु¥याएका थिए ।
यस्तै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकार र सिमेन्ट उद्योगीबीच भएको सहमति विपरीत कसैले भाउ लिएको भए सरकार कारबाही गर्न तयार रहेको बताउनुभएको छ ।
प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा आजको बैठकपछि उद्योगमन्त्री भण्डारीले सरकारसँग भएको सहमति विपरीत सिमेन्टको भाउ लिनेलाई कारबाही गर्ने बताउनुभएको हो ।
मन्त्री भण्डारीका अनुसार साउन महिनामा प्रत्येक वर्ष प्रमुख जिल्ला अधिकारी (सीडीओ) को सयोजकत्वमा हरेक जिल्लामा मूल्य निर्धारण समिति बनाउने गरिएको बताउनुभयो ।
यता प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति सदस्यहरूले आज जारी बैठकमा सिमेन्ट उद्योगीले दिएको धम्की फिर्ता लिन माग गरेका छन् । समितिको आजको बैठकमा नेपाल सिमेन्ट उत्पादक संघका निवर्तमान ध्रुव थापाले ‘हामीलाई यहाँ पटक–पटक किन बोलाइन्छ ? हाम्रो काम उद्योग चलाउने हो, अब बोलाइयो भने हामी आउँदैनौं’ भनेका थिए ।